गौरिटार रंगशालामा फुटबल मैदानको उद्घाटन कार्यक्रममा शिलालेख अनावरण गर्नुहुँदै मुख्यमन्त्री लामा ।

हेटौँडा : हेटौँडा–६ स्थित गौरिटार रंगशालाको फुटबल मैदान उद्घाटन गरिएको छ । बुधबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले फुटबल मैदानको उद्घाटन गर्नुभएको हो ।

फुटबल मैदानको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री लामाले उत्पादनमा केन्द्रित गरेर बजेट कार्यक्रम तयार गर्नुपर्ने बताउनुभयो । सरकारको बजेटलाई आयआर्जनमा जोड्न र रोजगारी तथा उत्पादन योग्य क्षेत्रमा लगानी गर्नुपर्ने मुख्यमन्त्री लामाले बताउनुभयो । मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रको विकास र व्यवस्थापनमा सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित गरेर सरकारको आयआर्जनमा जोड्ने गरी संचालनको व्यवस्था गर्नुपर्ने जीकिर गर्नुभयो । सरकारले खेलकुद क्षेत्रबाट पनि राजस्व संकलन गर्नेगरी संरचनाहरुको व्यवस्थापनमा अघि बढेको उहाँको भनाई छ ।

कार्यक्रममा प्रदेशका युवा तथा खेलकुद विकास मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रलाई पर्यटनमा जोडेर अघि बढाउनु पर्ने बताउनुभयो । खेल पर्यटनको माध्यमबाट अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा समेट्न सक्ने भएकाले प्रदेश सरकार त्यसतर्फ अग्रसर हुनु पर्ने उहाँले बताउनुभयो । साहसिक खेलहरुको सम्भाव्यता अध्ययन गरेर पूर्वाधार निर्माणमा जोड दिन सके पर्यटकहरुको आगमन र बसाईको दर पनि बढाउन सक्ने उहाँको भनाई छ ।

गौरिटार रंगशाला २०७४ सालबाट प्रदेश सरकार अन्तर्गत रहेर काम हुँदै आएको र पछिल्लो समय निर्माणका काम व्यवस्थित गरी उद्घाटन गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले बताउनुभयो । अघिल्लो कार्यकालमा मैदान तयार भएपनि पूर्वाधार निर्माणको काममा केही कमजोरी सुधार गर्नुपरेको उहाँले जानकारी दिनुभयो । हाल रंगशालाको रनिङ ट्रयाक, मैदान, फ्याराफिटमा कुर्सी जडान तथा पर्खाल निर्माण गर्नका लागि २० करोड ४६ लाख ७४ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्का मार्फत् काम गरिएको सदस्य–सचिव लामाले जानकारी दिनुभयो । साविकको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङबाट गौरीटारको फुटबल मैदानको उक्त योजना कार्यान्वयनका लागि २०७८ बैशाख १४ गते १३ करोड ३८ लाख ६५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

निर्माण कम्पनीले २०८१ पुस २९ मा काम सम्पन्न गर्नुपर्ने गरी काम अघि बढाई रंगशालाको प्याराफिटमा २ हजार ४०० थान कुर्सी जडान गरिएको छ भने रनिङ ट्रयाकमा वेस कोर्ष र १०५.६८ मिटरको खेल मैदानमा पानी निकासको स्वचालित सिस्टम जडान गरिएको उहाँको भनाई छ ।

क्रिकेट र पौडी पोखरी अन्तिम चरणमा
हाल गौरिटार रंगशालामा पौडी पोखरी र क्रिकेट रंगशाला निर्माणको काम धमाधम भइरहेको छ । सदस्य–सचिव लामाका अनुसार प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रंगशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणका लागि ९ करोड रुपैयाँ विनियोजन गरेर निर्माण थालेको थियो । रंगशालामा पहिलो चरणमा ६०० भन्दा बढी दर्शक क्षमताको एउटा प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएशनको ग्राउण्ड भीभीआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङ लगायतका संरचना निर्माण हुने परिषद्ले जनाएको छ ।

केन्द्रीय खेलकुद प्रतिष्ठानका रुपमा विकास गर्ने गरी तत्कालीन समयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदका संरचना निर्माणको थालनी गरेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म गौरिटार रंगशाला निर्माणको कार्यले गति लिन सकेको थिएन । २८ जेठ २०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रंगशालाको शिलान्यास गर्नुभएको थियो ।