Home मुख्य समाचार कक्षा १२ को परीक्षा तयारीमा हेटौँडास्थित परीक्षा बोर्डको कार्यालय, मकवानपुरमा ७,२८९ परीक्षार्थी

कक्षा १२ को परीक्षा तयारीमा हेटौँडास्थित परीक्षा बोर्डको कार्यालय, मकवानपुरमा ७,२८९ परीक्षार्थी

मंगलबार राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयमा विद्यार्थीको प्रवेशपत्र लिन आएका रौतहटको एक विद्यालयका शिक्षक ।

हेटौँडा : विद्यालय शिक्षकको आन्दोलनका बाबजुद राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि १२ कक्षाको वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । वैकल्पिक जनशक्ति व्यवस्थापन गरेर भए पनि १२ कक्षाको वार्षिक परीक्षा लिने निर्णय मंगलबार बोर्डले गरेपछि हेटौँडास्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयले आवश्यक तयारी गरिरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका निमित्त प्रमुख जनार्दन बास्तोलाले परीक्षा सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्लास्तरीय परीक्षा समन्वय समितिलाई परिचालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हेटौँडास्थित कार्यालयले मकवानपुरसहित चितवन, बारा, पर्सा र रौतहट जिल्लामा परीक्षा सञ्चालनको आवश्यक तयारी गरिरहेको छ ।

२४ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पुगिसकेको छ । बोर्डको हेटौँडास्थित कार्यालयले हेर्ने मकवानपुरसहित ५ जिल्लामा १ सय ५३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ४७ हजार ७ सय ८३ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् । मकवानपुरमा २१ वटा परीक्षा केन्द्र तोकिएको छ भने चितवनमा ५२, रौतहटमा ३१, बारामा २३ र पर्सामा २६ वटा परीक्षा केन्द्र तोकिएको छ । मकवानपुरमा ७ हजार २ सय ८९ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् भने चितवनमा १४ हजार ४ सय २४, रौतहटमा ८ हजार ७ सय ५९ जना, बारामा ७ हजार ४ सय ४८ जना र पर्सामा ९ हजार ८ सय ६३ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

शिक्षक आन्दोलनकै कारण कक्षा–१२ को वार्षिक परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षहरुको अभिमुखीकरण कार्यक्रम हुन सकेको छैन । सम्बन्धित विद्यालयले विद्यार्थीको प्रवेशपत्र वितरणको कार्य गरेको र केन्द्रको निर्णयअनुसार परीक्षाका लागि आवश्यक तयारी भइरहेको निमित्त प्रमुख बास्तोलाले जानकारी दिनुभएको छ ।

Exit mobile version