प्रलय चौलागाई ।

हेटौँडा : सिस्नुपानी नेपाल मकवानपुरले सङ्गीतकार प्रलय चौलागाईँलाई सदस्यमा मनोनित गरेको छ । चौलागाईँलाई मनोनयन गरेपश्चात् ११ सदस्यीय कार्यसमिति बनेको छ । चौलागाईँ विगत २ दशकदेखि गायन तथा वाद्यवादनमा सक्रिय हुनुहुन्छ भने विगतमा नाट्य प्रस्तुति, क्यारिकेचर आदिको अनुभवसमेत रहेको छ ।

हास्यव्यङ्ग्य प्रस्तुतिमार्फत् समाजमा रहेका कुरीति र बेथितिका विरूद्धमा सचेत गराउने उद्देश्यले हरेक वर्ष देउसीभैलो र गाईजात्राका साथै रचना वाचनका विविध कार्यक्रम आयोजना गर्ने गरेको छ । राष्ट्रव्यापी हास्यव्यङ्ग्य कविता प्रतियोगिता समेत आयोजना गरेको यस संस्था २०५५ सालमा स्थापना भएको हो । साहित्यकारहरू आरसी रिजाल, रामचन्द्र आचार्य फुर्सती, निमेष निखिल आदि संस्थापक रहनु भएको सिस्नुपानी मकवानपुरमा हाल संप्रस पौडेलको नेतृत्व रहेको छ ।

विगतदेखि नै सिस्नुपानीको विभिन्न कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका चौलागाईँसँगको सहकार्यले कार्यक्रमलाई पाठक तथा स्रोतामाझ रूचीपूर्ण बनाउनुका साथै रचनात्मक बनाउनमा सहयोग मिल्ने र सबै सरोकारवालाहरूको सहयोगले संस्थाका कार्यक्रमहरूमा दर्शक तथा स्रोताहरूको उल्लेख्य उपस्थिति रहने गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

११ सदस्यीय कार्यसमितिमा हास्यव्यङ्ग्य लेखक, प्रहसन कलाकारका साथै गायक तथा साहित्य सर्जकहरूको संयोजन रहेको र हास्यव्यङ्ग्य साहित्यको उन्नयनमा अझ मद्दत पुग्ने विश्वास लिइएको उपाध्यक्ष गोविन्द पौडेलले जानकारी दिनुभयो । हेटौँडा–४, भैरवरोडमा आफ्नै भवन रहेको यस संस्थाले हास्यव्यङ्ग्य विधाका सर्जकहरूलाई सम्मान तथा पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ भने बैशाख २० गते हास्यव्यङ्ग्य साहित्यकार कृष्णमुरारी गौतम (चट्याङ् मास्टर) र हास्यव्यङ्ग्य कलाकार सुबोध गौतम (यदुमे) लाई पुरस्कार राशिसहित सम्मान गर्न लागेको संस्थाका सहसचिव अमृता लामिछानेले जानकारी दिनु भएको छ ।