तालिम समापनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : जिल्लास्तरीय आधारभूत भलिबल रेफ्री तालिम सम्पन्न भएको छ । मकवानपुर जिल्ला भलिबल संघद्वारा आयोजित जिल्लास्तरीय आधारभूत भलिबल रेफ्री तालिम शनिबार सम्पन्न भएको हो । मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त कुमार सिटौलाको सभाध्यक्ष ताथ बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाको प्रमुख आतिथ्यमा तालिम समापन कार्यक्रम भएको हो ।

तालिम मंगलबारबाट सुरु भएको थियो । मकवानपुर, बारा, धादिङ, रसुवा, सर्लाही, पर्सा, चितवन, रामेछाप र सिन्धुली लगायतका जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तालिममा सहभागी भएका थिए । तालिममा महिला ६ जना र पुरुष ३५ जना गरी जम्मा ४१ जना सहभागी थिए । तालिम पश्चात लिइएको परीक्षामा सहभागी सबै उत्तीर्ण भएको भलिबल संघले जनाएको छ । तालिममा सहभागीलाई भलिबल खेलको नियम पुस्तिका, निर्णायकको पोशाक, सिठी प्रदान गरिएको छ । तालिममा फिफ लेभल टु का कोच तथा अन्तर्राष्ट्रिय भलिबल रेफ्री विजयकृष्ण वादे र राष्ट्रिय रेफ्री विनोद श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

तालिम समापन कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले खेलले राष्ट्रलाई चिनाउने भएकोले खेलकुद क्षेत्रको विकास गर्नु महत्वपूर्ण भएको बताउनुभयो । पछिल्लो समय खेल क्षेत्रमा पनि राजनीति गिजोलिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । परिषद्ले भलिबल खेलको विकासका लागि सहयोग गर्ने सदस्य सचिव लामाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।