प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका पदाधिकारी ।

हेटौँडा : प्रतियोगिता सम्पन्न भएको डेढ वर्षमा मकवानपुर गोल्डकपको हिसाब सार्वजनिक गरिएको छ । शनिबार मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै मकवानपुर गोल्डकपको आयव्यय सार्वजनिक गरेको हो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत २०८० माघमा सम्पन्न प्रतियोगिताको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो । मकवानपुरको १० वटा स्थानीय तहको आर्थिक सहयोगमा भएको उक्त गोल्डकपको आम्दानी खर्च भने हरेक वर्ष अपारदर्शी हुने गरेको छ । सातौं संस्करणको ‘सहीद स्मृति मकवानपुर राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगित २०८० को आम्दानी तथा खर्च पनि पारदर्शी हुन सकेको देखिँदैन ।

संघले सार्वजनिक गरेको गोल्डकपको आम्दानी तथा खर्च विवरणमा एकै प्रकृतिका खर्च शिर्षकहरु पटक–पटक दोहोरिएका छन् भने खर्चै नगरिएको शीर्षकमा पनि खर्च विवरण देखाइएको छ । संघले शनिबार सार्वजनिक गरेको खर्च विवरणमा खेलाडी यातायात खर्च ४ लाख ३१ हजार ६०० रुपैयाँ देखाइएको छ भने बस भाडा खेलाडी शीर्षकमा पनि २ लाख २८ हजार रुपैयाँ खर्च भएको देखाइएको छ ।

अतिथि तथा आयोजक खाजा खर्चमा १ लाख ९५ हजार रुपैयाँ खर्च भएको संघको विवरण रहेको छ भने स्वयम्सेवक खर्च शिर्षकमा १ लाख १९ हजार रुपैयाँ देखाइएको छ । संघले फ्लेक्स प्रिन्ट, गेट व्यानर खर्च शीर्षक २ पटक समावेश गरी प्रत्यक पटक २ लाख ६३ हजार ८८२ रुपैयाँ खर्च समावेश गरेको छ । प्रचार प्रसार अन्तर्गत विज्ञापन खर्चमा २ लाख ९७ हजार रुपैयाँ खर्च भएको संघको विवरणमा उल्लेख छ । जबकी उक्त समयमा गोल्डकपको विज्ञापन कुनै पनि माध्यमबाट औपचारिक रुपमा प्रचार प्रसार भएको थिएन । पत्रकार ट्रेनिङ शिर्षकमा ३ दिनको तालिम संचालन, टिसर्ट वितरण गर्दा १ लाख ५० हजार रुपैयाँ खर्च भएको संघको विवरणमा उल्लेख छ । जबकि उक्त ट्रेनिङमा न उपस्थितहरुलाई कुनै सुविधा प्रदान गरिएको थियो । न नै टिसर्ट वितरण गरिएको थियो ।

संघको खर्च विवरणमा मसलन्द वापत ३६ हजार ८७० रुपैयाँ खर्च भएको विवरण समावेश भएको छ भने सोही प्रकृतिको अर्को शिर्षक मसलन्द तथा अन्य शिर्षकमा १ लाख ७७ हजार १९८ रुपैयाँ खर्च भएको विवरण समावेश भएको छ । फुटबल संघले उक्त प्रतियोगिताको लागि ९१ लाख ४८ हजार ९४९ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

फुटबल प्रतियोगिता आर्थिक रुपमा घाटा भएको संघका कोषाध्यक्ष अमृत लुङबाले बताउनुभयो । प्रतियोगिता आयोजना गर्न ९१ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ भने जम्मा ८९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो । प्रतियोगिताबाट २ लाख २४ हजार रुपैयाँ घाटा भएको कोषाध्यक्ष लुङ्वाले बताउनुभयो ।

विवाद र अपादर्शिताका बीच फुटबल संघलाई सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दिँदै आएको बजेट कटौति भएको देखिन्छ । पछिल्लो संस्करणका लागि मकवानपुरका गाउँपालिकाहरुले ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म बजेट विनियोजन गर्ने गरेका थिए । हेटौंडा उपमहानगरपालिकाले २५ लाख रुपैयाँ र बागमती प्रदेश खेलकुद विकास परिषदले ५० लाख रुपैयाँ आर्थिक सहयोग दिएर सो गोल्डकप सम्पन्न हुने गरेको थियो । तर, पछिल्लो समय उक्त बजेट निरन्तर कटौति भएको संघको आम्दानी विवरणमा उल्लेख छ ।

पछिल्लो संस्करणका लागि मकवानपुरका ८ गाउँपालिका मध्ये ५ वटाले मात्र आर्थिक सहयोग उपलब्ध गराएका छन् । ३ लाखदेखि ५ लाखसम्म आर्थिक सहयोग दिने गाउँपालिकाहरुले न्युनतम १ लाख ७० हजार रुपैयाँदेखि अधिकतम ४ लाख ९२ हजार रुपैयाँ आर्थिक सहयोग दिएका छन् । गोल्डकपका लागि भीमफेदी गाउँपालिकाले ४ लाख ९२ हजार रुपैयाँ, कैलाश गाउँपालिकाले २ लाख ९५ हजार रुपैयाँ, बागमती गाउँपालिकाले २ लाख ७८ हजार रुपैयाँ, इन्द्रसरोवर गाउँपालिकाले २ लाख ४७ हजार रुपैयाँ र मकवानपुरगढी गाउँपालिकाले १ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग दिएको छ ।

त्यसबाहेक २५ लाख रुपैयाँ आर्थिक सहयोग दिँदै आएको हेटौंडा उपमहानगरपालिकाले १८ लाख ७५ हजार रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषदले ४५ लाख ९१ रुपैयाँ सहयोग उपलब्ध गराएको छ । मकवानपुरको बकैया गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, थाहा नगरपालिकाले प्रतियोगिताको लागि दिँदै आएको बजेट कटौति गरेका छन् ।

संघका कोषाध्यक्ष लुङ्वाका अनुसार प्रतियोगिताको खर्च विवरणमा केही त्रुटिहरु रहेको बताउनुभयो । केही खर्च शीर्षकहरु दोहोरिएको र केही खर्च शीर्षक मिलानमा प्राविधिक कमजोरी भएको बताउनुभयो । खर्च मिलान गर्न केही शीर्षकहरु उस्तै प्रकृतिको देखिएको उहाँको भनाइ छ ।

गोल्डकपको आम्दानीका क्षेत्रहरु उठाउन समय लागेकाले हिसाब सार्वजनिक गर्न समय लागेको लुङ्बाले जानकारी दिनुभयो । अझैपनि केही खर्चहरु फछ्र्यौट गर्न बाँकी रहेको र त्यसलाई पनि खर्चको विवरणमा समावेश गरिएको उहाँको भनाई छ । पत्रकार तालिम, विज्ञापन तथा प्रचार प्रसार लगायतका खर्चहरु भुक्तानी गर्न बाँकी नै रहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय प्रतियोगिताका लागि स्थानीय तहबाट बजेट उपलब्ध हुुनेक्रम घटिरहेको उहाँले बताउनुभयो । स्थानीय तह आफै प्रतियोगिता आयोजना गर्ने कार्यमा अग्रसर रहेकाले प्रतियोगिताको बजेट घटेको उहाँको भनाई छ ।