गजल मञ्च मकवानपुरको अध्यक्ष निर्वाचित सञ्जित श्रेष्ठ ।

हेटौँडा : गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा नियमित गजल यात्रा तथा अधिवेशनको अवसरमा गजलकृतिका कृतिकारलाई पनि सम्मान गरिएको छ ।

अधिवेशनबाट गजल मञ्च मकवानपुरको अध्यक्षमा सञ्जित श्रेष्ठ चयन हुनु भएको छ । शनिबार हेटौँडामा भएको चौथो अधिवेशनले श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको हो । गजल मञ्चको उपाध्यक्षमा हरिप्रसाद पौड्याल, सचिवमा कमल नेपाल, सहसचिवमा गौरी कँडेल, कोषाध्यक्षमा स्वस्तिका दाहाल चयन हुनुभएको छ । यस्तै सदस्यमा प्रविना प्रयासी र देव दूलाल चयन हुनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको रहने छ ।

गजल कृति प्रकाशन गर्नुहुने राम कार्की र तुलसी घिमिरेलाई सम्मान गरिँदै ।

यसैबीच गजल मञ्च मकवानपुरले दुईजना गजलकारलाई सम्मान गरेको छ । २०७९ सालदेखि ८१ सालमा कृति प्रकाशन गर्ने दुई जनालाई मञ्चले सम्मान गरेको हो । गजल मञ्च मकवानपुरले तुलसी घिमिरेले प्रकाशन गर्नुभएको ‘घामका फूलहरू’ र राम कार्कीको ‘तृप्ति संग्रह’ को कदर गर्दै सम्मान गरेको हो ।

२२३ औँ नियमित गजल यात्रामा पुरुषोत्तम आचार्य, इश्वर खड्का, राम कार्की, गौरी कँडेल, अनिल कोइराला, कमल नेपाल र संजित श्रेष्ठले गजल वाचन गर्नुभएको थियो । गजल मञ्च मकवानपुरका निर्वतमान अध्यक्ष देवराज तिवारी, साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौला, गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दिपक गौतम, मुस्कान तिमल्सिना र साहित्यकार शान्ति प्रियवन्दनाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।