प्यारा विद्यार्थी भाइबहिनीहरु यतिबेला शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा सकेर घरमा फुर्सदमा हुनुहुन्छ । कतिपय विद्यालयले नतिजा प्रकाशित गरिसकेका छन् भने कतिपय विद्यालयहरूले नतिजा प्रकाशनको तयारीमा रहेका छन् । नतीजा प्राप्त भएका विद्यार्थी भाइबहिनीहरु कक्षोन्नति भएअनुसार पाठ्यपुस्तक, नयाँ पोशाकसहित आवश्यक शैक्षिक सामग्री व्यवस्थापनमा व्यस्त हुनुहुन्छ ।

वार्षिक परीक्षाको नतीजालाई कतिपय विद्यार्थी स्वभाविक रुपमा स्वीकार्नुभएको होला, कतिपयले अपेक्षाअनुसार नतीजा नआएको भनी दुखी पनि हुनुहुन्छ होला । शैक्षिक उपलब्धि मापनका लागि नतिजा भनेको महत्वपूर्ण उपकरण हो । यसले विद्यार्थीहरुको सिकाइ स्तर, शिक्षकको शिक्षण प्रभावकारिता, पाठ्यक्रमको उपयुक्तता र विद्यालयको समग्र शैक्षिक प्रगतिको मूल्यांकन गर्न सहज बनाउँछ । विद्यार्थीको वर्षदिन भरिको मिहिनेतलाई वार्षिक उपलब्धि (नतिजा) ले स्तरोन्नतिको निर्धारण गर्दछ । वर्तमान विद्यालय पाठ्यक्रमले उपलब्धि (नतिजा) लाई अक्षराङ्कन प्रणालीको व्यवस्था गरेको छ ।

यसै सन्दर्भमा पाठ्यक्रमले निर्धारण गरेको सक्षमता विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको समग्र प्रयासमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि ग्रेड÷जिपिए प्रति उत्कृष्ट/राम्रो ल्याएको अवस्थामा असाध्यै खुसी हुने र कम ल्याएको अवस्थामा दुखी हुने अवस्था रहेको पाइन्छ । विद्यार्थीको क्षमता अनुसारको उपलब्धि हासिल हुने हुनाले समग्र गतिविधिलाई ग्रेड÷जिपिएसँग मात्र तुलना गर्नु हुँदैन । जे जस्तो उपलब्धि हासिल भएका छन् त्यसलाई व्यवहारिक सिकाइको पाटोसँग पनि हेर्न सक्नुपर्छ ।

प्यारा विद्यार्थी भाइबहिनीहरु कम जिपिए/ग्रेड ल्याउँदैमा बर्बाद भयो भन्ने सोच राख्न हुँदैन । आदरणीय अभिभावकले पनि आफ्ना बालबालिकाको क्षमतालाई ग्रेड/जिपिएसँग मात्र तुलना गर्नु हुँदैन । आत्मविश्वास, हौसला, व्यवहारिक सिकाइको पाटोलाई पनि प्राथमिकता दिनुपर्ने हुन्छ । एउटा शैक्षिक सत्रको उपलब्धीबाट हौसला ग्रहण गर्ने, केही कमिकमजोरी भए त्यसबाट सिक्ने, बुझ्ने र नयाँ शैक्षिक सत्रमा राम्रो गर्ने प्रतिवद्धतासहित अगाडि बढ्न विद्यार्थी भाइबिहनीहरुलाई अनुरोध समेत गर्दछु ।