हेटौँडा : बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले खानेपानी व्यवस्थापनका लागि स्थानीय तहमा ‘खानेपानी व्यवस्थापन बोर्ड’ गठन गर्न आवश्यक देखिएको बताउनुभएको छ । उहाँले नागरिकको खानेपानी सम्बन्धी अधिकार सुनिश्चितताका लागि स्थानीय तहका बोर्ड गठन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।
आइतबार हेटौंडामा खानेपानी, सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. नेपालले उभोक्ता समितिबाट हुँदै आएको खानेपानी व्यवस्थापनको कामलाई सहज र प्रभावकारी बनाउन बोर्ड गठन गरेर अघि बढ्न स्थानीय तहले काम गर्नुपर्ने बताउनुभयो । छरिएर रहेका उपभोक्ता समितिहरुलाई एकीकृत गरी स्थानीय तहहरुले आगामी नीति तथा कार्यक्रम मार्फत् बोर्ड स्थापना गर्न उहाँले आग्रह गर्नुभयो ।
सुरक्षित खानेपानी र सरसफाईलाई सुनिश्चित गर्न सुरुमा पूर्ण दिसामुक्त अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र दिगोविकास लक्ष्य उन्मुख हुन जरुरी रहेको उहाँको भनाई छ । उहाँका अनुसार नागरिकमा सहज खानेपानी सेवा उपलब्धता सुनिश्चित गर्न तीन तहका सरकारको समन्वयात्मक भूमिका अनिवार्य रहन्छ । भौतिक पूर्वाधार निर्माणले वातावरण प्रतिकुल बन्नुको सार्थ जलवायु परिवर्तनमा नकरात्मक प्रभाव देखिएको उहाँले बताउनुभयो । जलवायु परिवर्तनका कारण खानेपानीको स्रोतहरु सुक्ने तथा भूमिगत जलस्रोतमा पनि घट्दो क्रममा रहेकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको उहाँको भनाई छ ।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापामगरले भौतिक तथा अन्य क्षेत्रको विकास सँगसँगै खानेपानी, सरसफाई तथा स्वच्छतामा पनि न्यायोचित ढंगले काम गर्नुपर्ने बताउनुभयो । प्रदेशका ७४ वटा गाउँपालिकालाई महासंघले खानेपानी सरसफाईको क्षेत्रमा समेत नीतिगत सहयोग र स्रोतको परिचालनमा आवश्यक पैरवी गर्दै आएको अध्यक्ष थापामगरले बताउनुभयो । उहाँले शिक्षा र क्षमता कम रहेकाले पनि कर्मचारीसँग तालमेल नमिलेकाले जनप्रतिनिधिहरुलाई आवश्यक क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिम आवश्यक रहेको बताउनुभयो । संघीयता बलियो बनाउन वडा, स्थानीय तह हुँदै प्रदेशलाई बलियो बनाउनु पर्ने उहाँले जोड दिनुभयो ।
भौगोलिक विकटतासँगै चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङ र कैलाशमा नागरिकहरुमा व्यवहार परिवर्तन ल्याउन सके सुरक्षित खानेपानी र सरसफाई क्षेत्रमा परिवर्तन ल्याउन सकिने कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो । समूदायमा समूह निर्माण गरी दीगोपना कायम गर्ने गरी खानेपानी र सरसफाइको क्षेत्रमा काम भइरहेको उहाँले बताउनुभयो ।











