हेटौँडा : हेटौँडा अस्पतालको बोर्ड मेटाएको अभियोगमा मकवानपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले खोजी गरिरहेका ६ जना बिहीबार आफैं प्रहरीको सम्पर्कमा आएका हुन् । पक्राउ परेका युवाहरु रास्वपा, तरुण दल र नेकपा एकीकृत समाजवादी सम्वद्ध हुन् ।

गत आइतबार बिहान साढे १० बजेको समयमा हेटौँडा अस्पतालको बोर्डमा मदन भण्डारी प्रतिष्ठानको नाम मेटाएको थियो । प्रहरीले हेटौँडा–५ का विशालराज महत, हेटौँडा–४ का सुनिल गिरी, हेटौँडा–६ का सफल अधिकारी, मकवानपुरगढी–५ का राजकुमार घिमिरे, अस्मित अधिकारी र समुन्द्र दाहाललाई पक्राउ गरेको हो ।

विशाल, राजकुमार, अस्मित र समुन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य हुन् भने सुनिल गिरी नेपाल तरुण दल हेटौँडा उपमहानगर समितिको अध्यक्ष हुन् । यस्तै सफल अधिकारी नेकपा एकीकृत समाजवादी हेटौँडा उपमहानगर कमिटीको सचिव हुन् । यसअघि प्रहरीले मंगलबार बोर्ड मेटाउन प्रयोग भएको म्याजिक भ्यान पनि नियन्त्रणमा लिएको थियो ।

साविक जिल्ला अस्पतालको रुपमा सञ्चालित हेटौँडा अस्पताल संघीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राख्ने निर्णय भएको थियो । प्रतिष्ठान मातहत रहने गरी हेटौँडा अस्पताललाई आगामी दिनमा शिक्षण अस्पतालको रुपमा विकसित गर्ने योजनासहित भौतिक पूर्वाधार विकास, सेवा विस्तार लगायतको कार्य भइरहँदा हेटौँडा अस्पताल र प्रतिष्ठानलाई अलग गर्नुपर्ने भन्दै राजनीतिक दल, भातृ संगठनसहित विभिन्न समूहले बेला–बेलामा आवाज उठाउँदै आएको छ ।

गत आइतबार भने अस्पतालको बोर्डमा उल्लेख भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मदन भण्डारी मेटाउने काम गरिएको थियो । यस्तै मदन भण्डारीको ठाउँमा हेटौँडा अस्पताल लेखिएको फ्लेक्स टाँसिएको थियो । सरकारी सम्पत्तिमा बलजफती गरी नाम मेटाउने कार्य गरेको भन्दै मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले घटनामा संलग्नलाई पक्राउ गरी कारवाही अगाडि बढाउन प्रहरीलाई निर्देशन दिनुभएको हो ।