लागूऔषधसहित पक्राउ परेका बाबुराम मुक्तानलाई सार्वजनिक गर्दै प्रहरी ।

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित मकवानपुरको मनहरी गाउँपालिकाका ५० वर्षीय बाबुराम मुक्तानलाई पक्राउ गरेको छ । बुधबार राती ९ बजेर ३० मिनेटको समयमा मनहरी गाउँपालिका–६, नयाँवस्तीस्थित ब्रमादेवी सामुदायिक वनबाट मुक्तानलाई ५२ किलो लागूऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागूऔषध गाँजा तस्करी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–६, सुनाचुरीका मुक्तानलाई नियन्त्रणमा लिएको बताइएको छ । मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीले मुक्तानलाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।