हेटौँडा : नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले भर्चुअल माध्यमबाट शनिबार ३३ औं नवसर्जक मासिक शृङ्खला ‘नयाँ वर्ष विशेष रचना वाचन एवम् पुस्तक समीक्षा कार्यक्रम’ गरेको छ । चौतारीकी केन्द्रीय अध्यक्ष कृतिका लौडारीको सभाध्यक्षता तथा अग्रज साहित्यकार एवम् चौतारीका सल्लाहकार प्रा.डा. देवी नेपालको प्रमुख आतिथ्य तथा चौतारीका संरक्षक÷परिकल्पनाकार दीपक गौतमको विशिष्ट आतिथ्य एवम् सल्लाहकार डिबी बर्ताैलाको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपालले वाचित रचनको समीक्षाका साथ नवगठित केन्द्रीय समितिलाई कार्यकाल सफलताको शुभकामना दिँदै आवश्यक परेको खण्डमा जुनसुकै समयमा पनि सहयोग गर्ने तथा उपस्थिति रहने बताउँदै आफ्नो बालकविता वाचन गर्नुभयो । कार्यक्रममा नवसर्जकहरू रचना भण्डारी (मकवानपुर), रौनक साह (मकवानपुर), रोशन गड्तौला (तेह्रथुम), प्रतिमा पौडेल (महोत्तरी), अनसूया खनाल (मकवानपुर), विनोद अधिकारी (कालिकोट), कोपिल पौडेल (रुपन्देही), उमेश कार्की (तेह्रथुम), रोज कार्की (मकवानपुर) मञ्जु गैरे (मकवानपुर), जोशिका कँडेल ‘निशा’ (कपिलवस्तु), लक्ष्मण आचार्य (कास्की), स्वस्तिका दाहाल (मकवानपुर) र कृतिका लौडारी (मकवानपुर) ले रचना वाचन गरेका थिए । कार्यक्रममा नवसर्जक सर्जु भण्डारीले रोशन पोख्रेलको ‘नूर’ कथा सङ्ग्रहको समीक्षा गरेकी थिइन् । चौतारीले हरेक महिनाको चौथो शनिबार नियमित मासिक शृङ्खला गर्दै आएको छ ।