हेटौँडा : यो वर्ष सार्वजनिक बिदाको १६ दिन जिल्ला प्रशासन कार्यालय मकवानपुर खुला रहने भएको छ । शनिबार बाहेकका १६ दिन परेको सार्वजनिक बिदामा पनि जिल्ला प्रशासन कार्यालय खुला रहने जनाइएको छ ।
सार्वजनिक बिदाको दिनमा पनि खुला रहँदा जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकता नयाँ वा प्रतिलिपि प्रदान गर्ने, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले विशेषगरी पर्व र दिवसको अवसरमा हुने सार्वजनिक बिदामा कार्यालय खुला राख्ने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले एक सूचना जारी गर्नुहुँदै सार्वजनिक बिदाको दिन पनि सेवा सुचारु हुने विवरण सार्वजनिक गर्नुभएको छ ।
गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी सार्वजनिक बिदाको दिन पनि सेवा सुचारु राख्न निर्देशन दिने गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेलले जानकारी दिनुभयो ।
