पोखरा : गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रकाशन हुँदै आएको आदर्श समाज दैनिक समाचारपत्र ३० औं वर्षमा प्रवेश गरेको छ । ३०औं वार्षिकोत्सवको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान तथा सम्मान गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा वितरण विभागमा रही लामो समयदेखि कार्यरत् पोखरा–२६, लेखनाथका पूर्णबहादुर रानाभाटलाई सम्मान गरिएको छ । समारोहमा आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका अध्यक्ष एवं प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले पत्रिका प्रकाशनमा धेरै चुनौतिहरु रहेको उल्लेख गर्नुहुँदै संयमित भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले पत्रिकालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण पाठक, ग्राहक, विज्ञापनदाता, स्तम्भकार तथा सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गर्नुभयो ।
प्रबन्धक कृष्णप्रसाद बस्ताकोटीले पत्रिकाको सुरुआतको संघर्षको चित्रण गर्नुहुँदै आदर्श समाज पोखराको पर्यायवाची बनिसकेको उल्लेख गर्नुभयो । उहाँले पत्रिकाको स्वतन्त्र छवि रहेको बताउँदै यसको चर्चा जताततै हुने गरेको दावी गर्नुभयो । व्यवस्थापक दुर्गादेवी बास्तोलाले सबैको साथ र सहयोगले पत्रिका यहाँसम्म आइपुग्न सफल भएको बताउनुभयो ।
कार्यकारी सम्पादक विजय नेपालले पत्रिकाले आफ्नो आदर्श र पत्रकारिताको सिद्धान्तलाई जहिले पनि आत्मसात गर्दै अघि बढेको बताउनुभयो । उहाँले आगामी दिनमा पाठकसमक्ष पत्रिकालाई अझै सशक्त र गुणस्तरीय बनाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । वितरण शाखा प्रमुख बलबहादुर राउतले नयाँ वर्ष तथा पत्रिकाको वार्षिकोत्सव अवसरमा शुभकामना व्यक्त गर्दै प्रगतिको कामना गर्नुभयो । आदर्श समाज २०५३ वैशाख १ गतेबाट पाक्षिकरुपमा प्रकाशन सुरु भएको थियो । अर्को वर्षपछि साप्ताहिकमा रुपान्तरण भएकोमा २०५४ माघ श्रीपञ्चमीदेखि दैनिकरुपमा निरन्तर प्रकाशित हुँदै आएको छ । आदर्श समाज दैनिक गण्डकी प्रदेशमै राष्ट्रिय (क) वर्गको एकमात्र दैनिक हो ।