तालिममा सहभागी भएका युवाहरु ।

हेटौँडा : युवाका लागि सीपमूलक तालिम कार्यक्रमको उद्घाटन भएको छ । बिहीबार हेटौँडा–४ स्थित पशुपति मन्दिरको सभाहलमा प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्की प्रमुख कार्यकारी निर्देशक शान्ति लामाको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा तालिम उद्घाटन कार्यक्रम भएको हो ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रमअन्तर्गत तालिमको आयोजना गरिएको हो । परिषद्ले चालु आर्थिक वर्षमा ४ हजार युवालाई तालिम प्रदान गर्ने लक्ष्यसहित १० करोड बजेटमा विनियोजन गरेको छ । तालिममा १६ वर्षदेखि ४० वर्ष उमेर समुहका युवा सहभागी हुनेछन् । बिहीबार उद्घाटन भएको तालिमअन्तर्गत कुक, मन्टेश्वरी, व्युटीसियन, मोबाईल मर्मत, सिलाईकटाई, फेशन डिजाईन, वेटर, बिल्डिङ ईलेक्ट्रिसियनसहित ११ वटा बिधामा तालिम संचालन हुनेछ । कुकमा–४०, मन्टेश्वरीमा ६० जना, व्युटीपार्लरमा ८० जना, मन्टेश्वरीमा ६० जना, मोबाईल रिपेयरिङमा ४० जना, वारिस्टामा ४० जना, सिलाईकटाईमा ८० जना, फेसन डिजाइनमा ४० जना गरी जम्मा ५ सय ८० जना सहभागी हुनेछन् ।

तालिम ३९० घण्टा कार्यअवधिको तालिम हरेक दिन ६ घन्टा संचालन हुनेछ । तालिम सकिएपश्चात् प्रशिक्षार्थीहरुलाई परीक्षा लिईने छ । सोही आधारमा प्रमाणपत्र प्रदान गरिने छ उक्त प्रमाणपत्र विश्वभरी मान्य हुने परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले हेटौँडा उपमहानगरपालिकाले नागरिकलाई रोजगारी दिलाउनको निमित्त विभिन्न संघ, संस्थासँग साझेदारी गरेर काम गरेको जानकारी गराउनुभयो । स्थानीय सरकारले नागरिकलाई स्वरोजगार बनाउन सक्ने जति काम गरेको दावी गर्नुहुँदै स्वरोजगारको पक्षमा केही काम गरेन भन्न नमिल्ने उहाँले जोड दिनुभयो । सम्पूर्ण मानिस अहिले बजारप्रति आश्रित भएकाले प्रत्येक व्यक्तिले आफुले सकेको श्रम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उपमहानगरमा बाटो, विजुली, विद्यालय आदि भौतिक संरचना करिव पालिकालाई पुग्दो सम्पन्न भैसकेको र अब नगरिकलाई रोजगारसँग जोड्न आवश्यक रहेको नगरप्रमुख लामाले बताउनुभयो । तालिम उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव बद्रिनाथ गैह्रे, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल पत्रकार महासंघका मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको पनि आतिथ्य रहेको थियो ।