हेटौंडाः मातहतका निकायलाई जिम्मेवार बनाउन भनी संघीय सरकारले आत्मसात गरेको कार्यसम्पादन करारको रणनीति प्रदेश सरकार हुँदै समुदायमा आधारित संघ, संस्थाले पनि अभ्यास गर्न थालेको छ । गत आर्थिक वर्षदेखि संघीय सरकारले आत्मसात गरेको कार्यसम्पादन करारको अभ्यासलाई चालु आर्थिक वर्षको पहिलो दिन नै बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीहरुसँग कार्यान्वयनमा ल्याउनुभएको थियो ।
संघीय र प्रदेश सरकारले गरेको अभ्यासलाई सकारात्मक रुपमा लिँदै हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि कार्यसम्पादन करार गरेको छ । बुधबार सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नतेले सहकारीका व्यवस्थापक रामशरण गौतमसँग कार्यसम्झौता करार गर्नुभयो । अध्यक्षसँग कार्यसम्पादन करार गर्नुभएका व्यवस्थापक गौतमले सहकारीको सेवा केन्द्रका प्रमुख र विभागीय प्रमुखहरुसँग कार्यसम्पादन करार गर्नुभएको छ ।