हेटौंडाः आर्थिक प्रलोभनमा पर्ने चारजना प्रहरीलाई बागमती प्रदेश प्रहरीले निलम्बन गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको विशेष टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनीहरुलाई गत सोमबार नियन्त्रणमा लिएको थियो । उनीहरुलाई बुधबार निलम्बन गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता सुदीप गिरिले जानकारी दिनुभएको छ ।

निलम्बनमा पर्नेमा प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी रहेका छन् । सवारी चालकसँग विभिन्न बहानामा रकम लिँदै गरेको अवस्थामा भेटिएका ईलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी प्रकाश जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी जवान अजय महत्तो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान लक्ष्मण कुमार महत्तोलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।