हेटौंडाः आज साउन १५ अर्थात खिर खाने दिन । नेपाली समाजमा असार १५ दहि चिउरा र साउन १५ खिर भन्ने प्रचलन छ । दूध–भात अर्थात् मिठो र पोषिलो खानेकुरो सर्वप्रिय दूधभातसँग सख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर ।
हरेक वर्षको साउन १५ गते नेपालमा यो दिनलाई खिर खाएर मनाउने गरिएको छ । नेपाली चलनचल्तिमा खिर विभिन्न उत्सव, चाडवाड, पूजाआजा, विहे–व्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबीच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । हामी संस्कृति र संस्कारमा साँच्चीकै धनी छौं ।
साउनको १५ लाई खिर खाने विशेष दिनको रुपमा लिइन्छ अर्थात् श्रावणको मध्यविन्दु खिरका लागि प्रचलित छ । रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाईसँगै यो दिनलाई खिर कैंयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ ।
श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु प्रशस्त हुने गर्दछन् जसलाई लैनो गाई तथा भैंसीहरुले अत्यन्त मन पराउने गर्दछन् जसका कारण प्रशस्त दूध पनि दिने गर्दछन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।