हेटौंडाः ड्युटीमा खटिएका बेला गैरकानूनी काम गर्ने व्यक्तिको प्रलोभनमा नपर्ने प्रहरी पुरस्कृत भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले सोमबार मकवानपुर र सिन्धुली जिल्लामा कार्यरत ३ जना प्रहरी जवानलाई पुरस्कृत गरेको छ । प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने सिन्धुलीका ९ जना र मकवानपुरका १ जनालाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ भने प्रलोभनमा नपर्ने प्रहरीलाई बागमती प्रदेश प्रहरी कार्यालयले सोमबार पुरस्कृत गरेको छ ।

सवारी चालकहरुले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारी पासको दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने, सवारी दुर्घटना गराई कानूनी कार्वाहीबाट उम्कने र नदीजन्य सामग्री अबैधरुपमा ओसारपसार गर्ने व्यक्तिहरुले प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीलाई ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म रकम दिएर प्रलोभनमा पार्न खोज्ने १० जनालाई रकमसहित पक्राउ गरिएको हो । विभिन्न मिति, समय र स्थानमा पक्राउ परेका व्यक्तिहरुलाई कसुर अनुसार सावर्जनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा चलाइएको, संक्रमण रोग ऐन २०२० अनुसार आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको र कतिपयलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा जरिवाना गराईएको छ ।

आर्थिक प्रलोभनमा नपरी इमान्दार भएर जिम्मेवारी निर्वाह गर्ने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयका साथै सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नगद पुरस्कार प्रदान गरेको छ । सोमबार बागमती प्रदेश प्रहरी कार्यालयले ३ जना प्रहरीलाई नियमानुसार पाउने नगद पुरस्कार प्रदान गरेको छ । सोमबार पुरस्कार पाउनेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी जवान दुईजना र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत १ जना प्रहरी जवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यसअघि नै एकजना प्रहरी नायव निरीक्षकसहित ४ जनालाई पुरस्कार प्रदान गरिसकेको छ ।

नागरिक केन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले विशेष कार्ययोजना बनाई मातहत कार्यालयहरुलाई सोही अनुरुपको कार्य सम्पादन गर्न निर्देशन भएसँगै प्रहरी कर्मचारीहरुबाट सोहीअनुसारको कार्य सम्पादन हुन थालेको प्रदेश प्रहरी कार्यालयले दावी गरेको छ ।