हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले खेलाडीहरुलाई राहत वितरण गरेको छ । मकवानपुर जिल्ला फुटबल संघले मकवानपुरका ४५ जना खेलाडी तथा प्रशिक्षकलाई राहत स्वरुप २ हजार रकम सहयोग गरेको हो ।
फुटबल संघले सोमबार खेलाडी तथा प्रशिक्षकलाई चेक हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को त्रासले लकडाउन घोषणा हुँदा खेलाडीहरुमा पर्न गएको आर्थिक असरलाई केहि राहत मिल्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको फुटबल संघका अध्यक्ष टिका लामाले बताउनुभयो । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा र बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाको पनि उपस्थिति रहेको थियो । राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर महतले हेटौंडा उपमहानगर खेलकुद तथा हरेक क्षेत्रमा सहयोगका लागि तत्पर रहेको बताउनुभयो ।