हेटौंडाः मकवानपुर जिल्लामा लैंगिक हिंसापीडितको संख्या घटेको छ । आर्थिक वर्ष २०७५\७६ को तुलना आर्थिक वर्ष २०७६/७७ मा मकवानपुरमा लैंगिक हिंसापीडितको संख्या घटेको हो । हेटौंडा अस्पतालमा सञ्चालनमा आएको अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा आर्थिक वर्ष २०७६/७७ मा चार सय १० जनाले सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७५\७६ मा पाँच सय १२ जना पीडित भएका थिए ।
लैंगिक हिंसामा परेकाहरुलाई उद्दार, संरक्षण र उपचारका लागि संघीय सरकारले सञ्चालन गरेको ओसिएमसीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै ओसिएमसीकी प्रमुख अस्मिता अर्यालले हिंसा पीडितका लागि परामर्श सेवा, समुदायमा पुनस्र्थापना तथा आर्थिक उपार्जनका लागि सहयोग गर्ने गरिएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६/७७ मा १८ लाख रुपैयाँ बजेट रहेको ओसिएमसीका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट रहेको छ ।
ओसिएमसीको वार्षिक समीक्षा कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपालको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रजिअ नेपालले चालु आर्थिक वर्षका प्रस्तावित कार्यक्रममा परिमार्जनका लागि सुझाव दिन आग्रह गर्नुभएको छ । उहाँले हिंसा पीडितलाई समुदायमा पुनस्र्थापना गर्नु महत्वपूर्ण र जटिल कार्य भएको उल्लेख गर्नुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले हिंसापीडितको उद्दार, उपचार र समाजमा पुनस्र्थापित गराउन जिल्ला समन्वय समितिले जिल्लाका सबै पालिकाहरुमा आवश्यक समन्वय गर्ने बताउनुभयो । हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले ओसिएमसीले हिंसापीडितलाई ठूलो राहत प्राप्त हुने गरेको बताउनुभयो ।