हेटौडा -४ कर्रा स्थित श्रमिक माविमा रहेको आइसोलेसन वार्ड

हेटौंडाः नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुर जिल्ला समितिले विद्यालयबाट आइसोलेसन र क्वारेन्टिन हटाउन भनेको छ । संघको सोमबार बसेको बैठकले कोरोना भाइरसको जोखिमका कारण विद्यालय बन्द भएलगत्तै विद्यालयमा कोरोना भाइरस संक्रमितको उपचारका लागि निर्माण गरिएका आइसालेसन कक्ष, स्थानीय तह र जिल्लाबाहिरबाट आएकालाई राख्न स्थापना गरिएका क्वारेन्टिन अन्यत्र व्यवस्थापन गरी विद्यालयमा पठनपाठनको वातावरण बनाउन अभिभावक संघले आग्रह गरेको छ ।

नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुर जिल्ला समितिका अध्यक्ष ध्रुव चौलागाईको अध्यक्षतामा बसेको बैठकले स्थानीय सरकार र सरोकारवालालाई विद्यालयमा स्थापना गरिएका आइसोलेसन र क्वारेन्टिन हटाउन भनेको हो । यस्तै शैक्षिक संस्थाहरु आवश्यक स्वास्थ्य सतर्कता अपनाएर पठनपाठन सुचारु गर्न सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरेको छ । लामो समयदेखि विद्यालय बन्द भए पनि पछिल्लो समय शैक्षिक संस्था मात्रै बन्द गराएर अन्य क्षेत्र पूर्ववत् जस्तै भइसकेको सन्दर्भमा सतर्कता अपनाएर शैक्षिक क्रियाकलाप सुचारु गर्न जरुरी भएकोले सरोकारवालालाई शैक्षिक वातावरण तयार पार्न आग्रह गर्ने निर्णय गरिएको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।

सरकारले भदौदेखि पठनपाठन सुचारु गर्ने तयारी समेत गरिरहेका बेला मकवानपुरका विद्यालय परिसर सरसफाई गर्न सम्पूर्ण अभिभावकलाई आव्हान गर्ने निर्णय गरेको छ । यस्तै सोमबारको बैठकले मकवानपुरका १० वटै स्थानीय तहमा अभिभावक संघको समिति गठन गर्न जिल्ला समितिमा रहेका पदाधिकारीलाई जिम्मेवारी दिइएको छ । जिल्लाको समग्र शैक्षिक वातावरणमा सुधारका लागि अभिभावकको भूमिका निर्वाह गर्न संघले आवश्यक पहल गर्ने उद्देश्यले स्थानीय तहमा समिति गठन गर्ने निर्णय गरिएको संघका सचिव नरहरि महतले जानकारी दिनुभयो ।

राष्ट्रिय अभिभावक संघले संस्थागत विद्यालयको सन्दर्भमा लकडाउन घोषणा हुनुअघि विद्यालयको वक्यौता भए अभिभावकलाई भुक्तानी गर्न आग्रह गर्नुका साथै संस्थागत विद्यालयलाई शिक्षक, कर्मचारीको सेवा, सुविधा भुक्तानी गर्न पनि आग्रह गरेको छ । संघले स्थानीय तहहरुलाई स्थानीय पाठ्यक्रम तयार पारेर पठनपाठनको व्यवस्था मिलाउन पनि भनेको छ ।