हेटौँडा : बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले भौगोलिक विकटताका कारण बजेट कार्यक्रममा साना र टुक्रे आयोजना समावेश गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । उहाँले प्रदेशको भौगोलिक अवस्थिति र नागरिकको बसोबासको परिस्थितिले बजेटमा साना आयोजनाहरु राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

बिहीबार हेटौँडामा भएको खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयको दोश्रो चौमासिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री खड्काले भौगोलिक अवस्थाका कारण कतिपय स्थानमा ५ लाखको योजनालाई अगाडि बढाउनुपर्ने बाध्यता रहेको उहाँले स्पष्ट पार्नुभयो । नागरिकको माग भएको स्थानमा सरकारको उपस्थिति अनिवार्य र तत्काल हुनुपर्ने उहाँको भनाई छ । उहाँले बजेट विनियोजनमा भएका त्रुटिको व्यवस्थापनका लागि आयोजना बैंक कार्यान्वयनमा ल्याइएको बताउनुभयो । आयोजक बैंक स्थापना पश्चात् विगतमा जस्तो टुक्रे योजनाहरु कम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मन्त्री खड्काले राजनीतिक पहुँचको आधारमा नभई आवश्यकताको आधारमा योजनाहरु छनोट गर्नुपर्ने बताउनुभयो । जनताले सेवा, सुविधा पाउने योजनाहरुलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ । जनताले सेवा पाउने, नगरी नहुने टुक्रे योजनाहरुलाई पनि आयोजना बैंकमा समावशे गर्ने गरी मन्त्रालयले व्यवस्थापन गर्ने मन्त्री खड्काको भनाई छ ।

मन्त्री खड्काले नयाँ योजना सिफारिस गर्ने भन्दा पनि विगतदेखि नै अधुरा रहेका योजनाहरुलाई सम्पन्न गर्नुपर्नेमा मन्त्रालयको जोड रहने उनले बताए । प्रदेश सरकार अहिले बजेट बनाउने चरणमा रहेकाले अधुरा योजना सम्पन्न गर्न लाग्ने अनुमानित लागत पेश गर्न पनि डिभिजन प्रमुखहरुलाई निर्देशन दिए । मन्त्री खड्काले कामको सिलसिलामा देखिएका बेरुजु रकमहरुलाई पनि कम गर्ने गरी काम गर्न निर्देशन दिए । मन्त्री खड्काले गत असोजमा आएको विपद्को कारण ३ अर्ब ४३ करोडको संरचनामा क्षति पुगेको उनको भनाई छ ।