हेटौंडाः बिहीबारबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा मकवानपुरका एक सय ५९ परीक्षार्थी अनुपस्थित भएका छन् ।
६ हजार २ सय ४३ परीक्षार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीले जानकारी दिनुभयो । साधारणतर्फ ३५ छात्र र २८ छात्रा गरी ६३ परीक्षार्थी अनुपस्थित.हुँदा २ हजार ६ सय ५९ छात्र र २ हजार ९ सय ८ गरी ५ हजार ५ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । प्राविधिक धारतर्फ ४ छात्र ३ छात्रा गरी ७ परीक्षार्थी अनुपस्थित हुँदा एक सय ८ छात्र र एक सय १२ छात्रा गरी २ सय २० परीक्षार्थीले परीक्षा दिएका छन् । ग्रेडवृद्धितर्फ ४४ छात्र र ४२ छात्रा गरी ८९ परीक्षार्थीले परीक्षामा नदिँदा एक सय ९३ छात्र र २ सय ६३ छात्रा गरी ४ सय ५६ परीक्षार्थीले परीक्षा दिएको प्रमुख गिरीले जानकारी दिनुभयो ।
परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । मकवानपुरमा २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । दोस्रो दिन शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा हुँदैछ । मकवानपुरका एक सय ३९ विद्यालयबाट ७ हजार ४ सय ८१ विद्यार्थीले एसईई परीक्षा आवेदन फारम भरेका थिए । पहिलो दिन प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुखले परीक्षा केन्द्रको अनुगमन गरेका छन् ।