हेटौंडाः हेटौंडामा राष्ट्रिय हक्की प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला हक्की संघको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले गर्नुभएको हो ।
हेटौंडा–४ स्थित हुप्रचौरमा सुरु भएको पुरुषतर्फको पहिलो खेलमा मिथिला नगरपालिकाले हेटौंडा उपमहानगरपालिकालाई ५–० गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा भद्रपुर नगरपालिका र बेदपुर नगरपालिकाबीचको खेल ४–४ गोलको बराबरीमा रोकिएको छ । तेस्रो खेलमा भीमदत्त नगरपालिकाको टिमले वीरगञ्जलाई ११–० गोलले हराएको छ । चौथो खेलमा बिर्तामोडले पोखरालाई १–० गोलले हराएको छ । पाँचौं खेलमा वेदकोटले हेटौंडालाई ३–२ गोलले हराएको छ । बिहीबारै भएको खेलमा विराटनगरले वीरगञ्जलाई ४–० गोल र बिर्तामोडले वीरगञ्जलाई ४–० गोलले हराएको छ ।
महिलातर्फको पहिलो खेलमा भीमदत्त नगरपालिका विजयी भएको छ । हेटौंडा उपमहानगरपालिकाको टिमलमई २–१ ले भीमदत्त नगरपालिकाले हराएको छ । हेटौंडा र पोखराबीचको खेल १–१ गोलको बराबरी भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सुरु भएको प्रतियोगितामा सहप्रायोजकका रुपमा हेटौंडा–१० स्थित तुल्सीमेहर बोर्डिङ र नारायणी कलेज रहेको छ । ५ ‘ए’ साइडमा सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ ९ वटा टिम र महिलातर्फ ४ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताका लागि नेपाल हक्की संघ केन्द्रीय समितिले प्राविधिक सहयोग गर्नेछ । प्रतियोगितामा विभिन्न जिल्लाका नगरपालिकाहरुको टिमको सहभागिता रहेको छ । जिल्ला हक्की संघका अध्यक्ष मनोज शर्माको अध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै सदस्यसचिव लामाले मकवानपुरले हक्कीको पुनःआगमन गराएको बताउनुभएको छ । प्रदेश खेलकुद विकास परिषद्मार्फत हक्की खेलको विकासको लागि काम गर्ने बताउनुभयो । नीति निर्माण गर्दा खेलकुदलाई बुझ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, कार्यालय प्रमुख माधव कोइराला, प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य माधव तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । तृतीय हुने टिमले १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । गत वर्ष सम्पन्न भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो । गत वर्ष हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सम्पन्न भएको प्रतियोगिताको उपाधि भीमदत्त नगरपालिकाले जितेको थियो । प्रतियोगिता लिग प्रणालीमा सञ्चालन हुनेछ ।