कालिका मावि परीक्षा केन्द्रमा परीक्षाको अवलोकन गर्नुहुँदै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान ।

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक एसईई परीक्षा सञ्चालन भएको छ । यो वर्ष कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविमा परीक्षा केन्द्र कायम गरेसँगै एसईई परीक्षा भएको हो । पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षामा ८ जना विद्यार्थी अनुपस्थित भएको केन्द्राध्यक्ष रामप्रसाद कालाखेतीले जानकारी दिनुभयो ।

नियमिततर्फ १ सय ४९ र ग्रेडवृद्धितर्फ ८ गरी कुल १ सय ५७ जना परीक्षार्थी मध्ये नियमिततर्फ ७ जना र ग्रेडवृद्धितर्फ १ जना विद्यार्थी अनुपस्थित रहेको केन्द्राध्यक्ष कालाखेतीले जानकारी दिनुभयो । आफ्नै पालिकामा परीक्षा सञ्चालन हुँदा विद्यार्थीलाई सहज भएको उहाँको भनाइ छ । पालिकाले विद्यार्थीलाई खाने, बस्ने समेत व्यवस्था गरेको थियो । केन्द्राध्यक्ष कालाखेतीका अनुसार केन्द्र रहेका ५ मध्ये रत्नज्योति माविका विद्यार्थी परीक्षा केन्द्र नजिकै भएकाले बिहानको खाजा र खानाको सुविधा मात्रै लिएका छन् ।

कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविमा ५ वटा विद्यालयको केन्द्र कायम गरिएको छ । कैलाश–२ स्थित कमलादेवी मावि, कैलाश–३ स्थित भवानी मावि, कैलाश–६ स्थित व्यास मावि, कैलाश–८ स्थित धुवाङ मावि र कैलाश–१० स्थित रत्नज्योति माविबाट एसईईमा सहभागी हुने विद्यार्थीका लागि कैलाश–९ स्थित कालिका माविमा परीक्षा केन्द्र तय गरिएको हो ।

५ वटा विद्यालयबाट नियमिततर्फ एसईईमा सहभागी हुन १४९ जना विद्यार्थीले फारम भरेका छन् भने ६७ जनाले ग्रेडवृद्धिका लागि परीक्षा फारम भरेका छन् । कुल २१६ जना विद्यार्थीले फारम भरेका छन् । कमलादेवी माविबाट नियमिततर्फ २८ जना, ग्रेडवृद्धितर्फ ११ जना, भवानी माविबाट नियमिततर्फ ४६ जना, ग्रेडवृद्धितर्फ २५ जना, व्यास माविबाट नियमिततर्फ ४८ जना, ग्रेडवृद्धितर्फ १८ जनाले परीक्षा फारम भरेका छन् । यस्तै धुवाङ माविबाट नियमितर्फ ९ जना, ग्रेडवृद्धितर्फ २ जना र रत्नज्योति माविबाट नियमिततर्फ १८ जना र ग्रेडवृद्धितर्फ ११ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

कैलाशको कालिका माविका विद्यार्थी भने हेटौँडा–४ स्थित भुटनदेवी माविबाट परीक्षा दिएका छन् । यस वर्ष कालिका माविबाट नियमिततर्फ ४५ जना र ग्रेडवृद्धितर्फ १० जनाले फारम भरेका छन् । आफ्नै विद्यालयमा परीक्षा दिने व्यवस्था नभएका कारण कालिका माविका विद्यार्थी जिल्ला सदरमुकाम नै आउन बाध्य भएका छन् । पालिकाभित्रै केन्द्र परेका विद्यार्थीका लागि खाने बस्ने सुविधा उपलब्ध गराएको गाउँपालिकाले जिल्ला सदरमुकाम जान बाध्य विद्यार्थीलाई पनि केही सुविधा उपलब्ध गराउने विषयमा छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिनुभयो । पहिलो दिनको परीक्षा सौहाद्र्ध वातावरणमा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।