हेटौंडा : बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा उच्च शिक्षा अध्ययनका लागि ४ सय ९५ छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । स्नातक प्रथम वर्ष र स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको शिक्षा विकास निर्देशनालय बागमतीका महानिर्देशक खुबिराम अधिकारीले जानकारी दिनुभयो ।

उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले क्रमागत एक सय ८१ र नियमित ३ सय १४ छात्रालाई छात्रवृत्ति प्रदान गरिएको उहाँको भनाइ छ । स्नातक तह प्रथम वर्ष अध्ययन गर्नेलाई १० हजार र स्नातकोत्तर प्रथम वर्ष अध्ययन गर्ने छात्रालाई १५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको महानिर्देशक अधिकारीले बताउनुभयो । यसैगरी, आर्थिक वर्ष २०७९÷८० मा नियमित ३ सय ९० छात्रालाई छात्रवृत्ति प्रदान गरिएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ मा सूचना प्रकाशन भई निवेदन माग गरेको छ । सूचना प्रकाशन गरेर सम्बन्धित क्याम्पसलाई जानकारी गराउँदा पनि आवेदन दिनेको संख्या न्यून हुँदा छात्रवृत्ति पाउने छात्राको संख्या कम देखिएको महानिर्देशक अधिकारीको भनाइ छ ।

बागमती प्रदेशभित्रका सामुदायिक क्याम्पसमा अध्ययनरत् छात्रालाई लक्षित गरेर आर्थिक वर्ष २०७६÷०७७ देखि छोरी÷बुहारी छात्रवृत्ति कार्यक्रम ल्याइएको थियो । तर, कार्यक्रम प्रभावकारी बन्न नसकेपछि अहिले बागमती प्रदेश सरकारले उक्त कार्यक्रमलाई छात्रा छात्रवृत्ति कार्यक्रम नामाकरण गरेको छ । कार्यक्रम सुरु भएपछि कति बजेट विनियोजन भएर खर्च भयो त्यसको तथ्यांक निर्देशनालयमा उपलब्ध छैन ।