हेटौँडा–४ स्थित श्रमिक माविमा परीक्षा दिँदै विद्यार्थी ।

हेटौँडा : आज चैत ७ गते बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । पहिलो दिनको परीक्षा मकवानपुर जिल्लामा सौहाद्र्ध वातावरणमा सम्पन्न भएको छ । एसईईका लागि मकवानपुर जिल्लामा २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजे सकिनेछ ।

यस वर्ष मकवानपुर जिल्लाबाट एसईईमा सहभागी हुन नियमिततर्फ ५ हजार ८ सय ६५ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् भने ग्रेडवृद्धितर्फ १ हजार ५ सय ९१ जना विद्यार्थीले परीक्षा फारम भरेका शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभएको छ । मकवानपुर जिल्लाका सामुदायिक र संस्थागत गरी १ सय ३९ वटा विद्यालयबाट एसईईमा विद्यार्थी सहभागी हुँदैछन् ।

मकवानपुरमा गत वर्ष २६ वटामात्रै परीक्षा केन्द्र तोकिएको थियो । परीक्षार्थीको सुविधालाई मध्यनजर गर्दै कैलाश गाउँपालिकाको नामटारस्थित कालिका माध्यमिक विद्यालय र हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा परीक्षा केन्द्र थप गरिएको प्रमुख गिरीले जानकारी दिनुभयो । यस वर्ष प्राविधिक धारतर्फको परीक्षा श्रमिक माविमा हुनेछ ।

पहिलो दिनको परीक्षामा सहभागी विद्यार्थीको विवरण बिहीबार साँझसम्ममा प्राप्त हुने इकाईले जनाएको छ । परीक्षाको सञ्चालन तथा व्यवस्थापनको विषयमा मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतले अनुगमन गरेका छन् ।