फाइल तस्विर

हेटौंडाः पछिल्लो ४ दिनको अवधिमा मकवानपुरमा दुई वटा बालबिवाहका घटना रोकिएका छन् । सरोकारवाला समूहले सोमबार मकवानपुरको थाहा नगरपालिका–४ मा एउटा बालबिवाहको घटना रोक्न सफल भएको छ भने गत शुक्रबार मकवानपुरको भीमफेदी गाँउपालिकामा पनि एउटा बालबिवाहको घटना रोकिएको छ ।

मकवानपुर जिल्लाको थाहा नगरपालिका–४, नारायण झ्याउमा भएको एक बालबिवाहलाई सरोकारवालाको उपस्थितिमा सोमबार रोकिएको छ । थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष दीपक सिं लामा, थाहा नगरपालिकाको सामाजिक विकास शाखाकी प्रमुख प्रतिमा लामा, वडा सचिव पाल्साङ लामा, बालबिवाहमुक्त बागमती प्रदेश अभियानकी सहजकर्ता पविना लामा, सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवाली, लेकाली बसिफाट मावि व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार लामालगायत स्थानीयको उपस्थितिमा १४ वर्षीया बालिका र २० वर्षका केटा बीच भएको विवाह रोकिएको हो ।

साउन ५ गते आफूखुसी विवाह गरेको पाइएपछि बालिकाकी आमा फूलमाया थिङले वडा अध्यक्ष दीपक सिं लामालाई जानकारी गराएकी थिइन् । वडा अध्यक्ष लामाले बालबिवाह भएको घटनाबारे बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा जानकारी गराउनु भएको थियो । प्रदेश मन्त्रालयमा जानकारी प्राप्त भएपछि सरोकारवालाको उपस्थितिमा सोमबार बालविवाह रोक्न सफल भएको हो । थाहा नगरपालिका–४, नारायण झ्याउ नै पुगेर बालबिवाह रोक्नुका साथै १४ वर्षीया बालिकालाई हेटौंडास्थित सिविन बालहेल्पाइनको आवासमा ल्याइएको सिविन बालहेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ । ज्ञवालीका अनुसार बढीमा दुई साता ती बालिकालाई सिविनको आवासगृहमा राखेर परामर्श गरी परिवारमै पुनस्र्थापित गर्नुका साथै उनलाई पुनः विद्यालय जाने वातावरण तयार पारिनेछ ।

थाहा नगरपालिकाले बालबिवाह र बालश्रममुक्त गर्ने योजनाअनुसार काम गरिरहेको जानकारी दिनुहुदै सोमबार सरोकारवालाको उपस्थितिमा नारायण झ्याउमा बालबिवाह रोकिएको वडा अध्यक्ष लामाले बताउनुभयो । सरोकारवालाको समूहले बिहे गर्ने केटालाई बालबिवाह गैरकानूनी कार्य भएको र दण्डनीय अपराध समेत भएको भनिएपछि बिवाह रोक्न सहमत भएको सिविन बालहेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीले बताउनुभयो । बालिकाकी आमा जागरुक र सचेत भएका कारण तामाङ समुदायमा आफूखुसी बिहे गरेर केटाकेटी भागे परिवारले बिवाहलाई स्वीकृति दिने गरी प्वाङ लिएर केटीको घर जाने प्रचलन छ । केटा पक्षले प्वाङ ल्याउने बताए पनि बालिकाकी आमा फूलमायाले भने प्वाङ नस्वीकार्ने बताउदै वडा अध्यक्ष र सरोकारवालालाई जानकारी गराउनुभएको हो । बालिकाकी आमा फूलमायाले २० वर्षको उमेर पुगेपछि खुसीसाथ बिवाह गरेर पठाउछु भन्दै छोरीलाई बिवाह रोक्न आग्रह गर्नुभएको छ ।

यसैबीच गत शुक्रबार मात्रै पनि मकवानपुरको भीमफेदी गाउँपालिका–२, चुनियाका २६ वर्षीय दृष्टिविहिन केटा र हेटौंडा–३ की १५ वर्षीया बालिकाबीच भएको बालबिवाह पनि रोकिएको छ । गाउपालिकाकी उपाध्यक्ष पार्वती राना, २ नम्बर वडा अध्यक्ष काशीराम बज्यू, प्रमुख प्रशासकीय अधिकृत जीवन कुबर, गाउँपालिकाको महिला बालबालिका शाखाकी प्रमुख दुर्गा घिमिरे, ईलाका प्रहरी कार्यालय भीमफेदीका ईन्चार्ज प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठसहितको उपस्थितिमा बालबिवाह रोकिएको सिविन बालहेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीले बताउनुभयो । टेलिफोनमार्फत चिनाजानी भएर केटा दृष्टिविहिन हो भन्ने थाहा हुँदा पनि ती बालिकाले बिवाह गरेकी हुन् । बालबिवाह दण्डनीय हो भनी बताइएपछि केटा र बालिका दुवैजना बालबिवाह रोक्न सहमत भएका हुन् । बालबिवाह रोकिएपछि थाहा नगरपालिकाकी १४ वर्षीया बालिका र भीमफेदी गाँउपालिकाकी १६ वर्षीया बालिका सिविन बालहेल्पलाइनको आवासगृहमा छन् ।
गत चैत यता मात्रै मकवानपुर जिल्लामा ३३ वटा बालबिवाहका घटना मध्ये २८ वटा बालबिववाहका घटना रोकिएको सिविन बालहेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीले बताउनुभएको छ । आर्थिक वर्ष २०७६/७७ मा बालबिवाहका ६२ वटा घटना मध्ये ५१ वटा बिवाह रोक्न सफल भएको ज्ञवालीले जानकारी दिनुभयो ।