खेलाडीहरु खेलमा समावेश हुन पूर्व तयारीका साथ दौडिरहेका

हेटौंडाः पर्सा जिल्लामा सुरु भएको तेस्रो संस्करणको पटेर्वा सुगौली गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीको टिम सहभागी हुने भएको छ । गत फागुन २४ गतेबाट पर्सा जिल्लाको पटेर्वा गाउँपालिकामा सुरु भएको तेस्रो संस्करणको गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने भएको हो ।

बुधबार हुने खेलमा हेटौंडाको टिमले पर्साको वीरगञ्ज युनाइटेड सिटी टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने हेटौंडा फुटबल एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिनुभएको छ । सो खेलमा जीत निकालेमा हेटौंडा फुटबल एकेडेमीको टिम सेमिफाइनलमा प्रवेश गर्ने उहाँले बताउनुभयो । प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीसहित १३ वटा टिमहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रशिक्षक लामाले फुटबल एकेडेमीले खेलाडीहरुलाई विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउँदै आउनुभएको छ । केही दिन पहिला छिमेकी मुलुक भारतमा भएको सद्भावना महिला फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीको महिला टिम उपविजेता बन्न सफल भएको उहाँले बताउनुभयो ।

एकेडेमीमार्फत् प्रशिक्षक लामाले हेटौंडा–४, हुप्रचौरमा महिला तथा पुरुषको सिनियर तथा जुनियर खेलाडीलाई फुटबल प्रशिक्षण दिँदै आइरहनुभएको छ । पटेर्वा गाउँपालिकामा ३ वर्षदेखि गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ । हेटौंडा फुटबल एकेडेमीका खेलाडीलाई यसै वर्ष प्रतियोगितामा सहभागी गराएको उहाँले बताउनुभयो ।