हेटौँडा: मकवानपुरको कैलाश गाउँपालिकामा पनि यस वर्षदेखि एसईईको केन्द्र निर्धारण गरिएको छ । आगामी चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले सोमबार केन्द्र निर्धारण गरिएको विवरण सार्वजनिक गरेको छ । इकाईका अनुसार गत माघ २५ गते बसेको माध्यमिक शिक्षा परीक्षा समन्वय समिति मकवानपुरको बैठकले परीक्षा केन्द्र निर्धारण गर्ने निर्णय गरेको थियो । एउटा प्राविधिक विषयको केन्द्र र कैलाश गाउँपालिकामा एउटा केन्द्र थप भएसँगै मकवानपुर जिल्लामा यस वर्षदेखि एसईईको केन्द्र २८ वटा पुगेको छ ।

इकाईले परीक्षा केन्द्र निर्धारण गरेर राष्ट्रिय परीक्षा बोर्डमा सिफारिस गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डबाट परीक्षा केन्द्रको विवरण स्वीकृत भएर आएसँगै इकाईले सोमबार परीक्षा केन्द्रको विवरण सार्वजनिक गरेको हो । कैलाश गाउँपालिकामा पनि परीक्षा केन्द्र निर्धारण भएसँगै अब मकवानपुरका १० वटै पालिकामा परीक्षा केन्द्र कायम भएको छ । यसअघि गत वर्षको एसईईमा राक्सिराङ गाउँपालिकामा पनि परीक्षा केन्द्र निर्धारण गरिएको थियो । यसै वर्षदेखि प्राविधिक विषयका लागि छुट्टै केन्द्र निर्धारण गर्ने व्यवस्था गरिएको छ । प्राविधिक विषयका विद्यार्थीका लागि हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा एसईईको केन्द्र तोकिएको छ ।

कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविमा ५ वटा विद्यालयको केन्द्र कायम गरिएको छ । कैलाश–२ स्थित कमलादेवी मावि, कैलाश–३ स्थित भवानी मावि, कैलाश–६ स्थित व्यास मावि, कैलाश–८ स्थित धुवाङ मावि र कैलाश–१० स्थित रत्नज्योति माविबाट एसईईमा सहभागी हुने विद्यार्थीका लागि कैलाश–९ स्थित कालिका माविमा परीक्षा केन्द्र तय गरिएको हो । यी ५ वटा विद्यालयबाट नियमिततर्फ एसईईमा सहभागी हुन १४९ जना विद्यार्थीले फारम भरेका छन् भने ६७ जनाले ग्रेडवृद्धिका लागि परीक्षा फारम भरेका छन् । कुल २१६ जना विद्यार्थीले फारम भरेका छन् । कमलादेवी माविबाट नियमिततर्फ २८ जना, ग्रेडवृद्धितर्फ ११ जना, भवानी माविबाट नियमिततर्फ ४६ जना, ग्रेडवृद्धितर्फ २५ जना, व्यास माविबाट नियमिततर्फ ४८ जना, ग्रेडवृद्धितर्फ १८ जनाले परीक्षा फारम भरेका छन् । यस्तै धुवाङ माविबाट नियमितर्फ ९ जना, ग्रेडवृद्धितर्फ २ जना र रत्नज्योति माविबाट नियमिततर्फ १८ जना र ग्रेडवृद्धितर्फ ११ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

आफ्नो पालिकाका विद्यार्थीको सहजताका लागि पालिकाले नै परीक्षा केन्द्र कायम गर्न पहल गरेको थियो । पालिकाको पहल र आवश्यक अध्ययनबाट एसईईको केन्द्र कायम गर्न सकारात्मक अवस्था देखिएपछि सिफारिस गरिएको र सोहीअनुसार स्वीकृत पनि भएर आएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो । पालिकाले परीक्षा अवधिभर एसईईमा सहभागी हुने विद्यार्थीको खाना र आवासको व्यवस्थापन गर्ने बताइएको छ । कैलाश गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक दिपेन्द्र अधिकारीका अनुसार विद्यार्थीको सहजताका लागि पालिकाले खाना र आवासको व्यवस्थापन गर्ने जानकारी दिनुभयो । कैलाशको कालिका माविका विद्यार्थी भने हेटौँडा–४ स्थित भुटनदेवी माविमा परीक्षा दिन आउनेछन् । आफ्नै विद्यालयमा परीक्षा दिने व्यवस्था नभएका कारण कालिका माविका विद्यार्थी जिल्ला सदरमुकाम नै आउन बाध्य भएका छन् ।

यस वर्ष मकवानपुर जिल्लाबाट एसईईमा सहभागी हुन नियमिततर्फ ५ हजार ८ सय ६५ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् भने ग्रेडवृद्धितर्फ १ हजार ५ सय ९१ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् । मकवानपुर जिल्लाका सामुदायिक र संस्थागत गरी १ सय ३९ वटा विद्यालयबाट एसईईमा विद्यार्थी सहभागी हुँदैछन् । एसईईका लागि शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले उत्तरपुस्तिका परीक्षा केन्द्रमा पठाउने कार्य शनिबारदेखि नै सुरु गरेको जनाएको छ । परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरणको कार्यक्रम पनि गरिने इकाई प्रमुख गिरीले जानकारी दिनुभएको छ । एसईईका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।