Home खेलकुद पटेर्वा सुगौली गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुँदै

पटेर्वा सुगौली गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुँदै

खेलाडीहरु खेलमा समावेश हुन पूर्व तयारीका साथ दौडिरहेका

हेटौंडाः पर्सा जिल्लामा सुरु भएको तेस्रो संस्करणको पटेर्वा सुगौली गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीको टिम सहभागी हुने भएको छ । गत फागुन २४ गतेबाट पर्सा जिल्लाको पटेर्वा गाउँपालिकामा सुरु भएको तेस्रो संस्करणको गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने भएको हो ।

बुधबार हुने खेलमा हेटौंडाको टिमले पर्साको वीरगञ्ज युनाइटेड सिटी टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने हेटौंडा फुटबल एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिनुभएको छ । सो खेलमा जीत निकालेमा हेटौंडा फुटबल एकेडेमीको टिम सेमिफाइनलमा प्रवेश गर्ने उहाँले बताउनुभयो । प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीसहित १३ वटा टिमहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रशिक्षक लामाले फुटबल एकेडेमीले खेलाडीहरुलाई विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउँदै आउनुभएको छ । केही दिन पहिला छिमेकी मुलुक भारतमा भएको सद्भावना महिला फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीको महिला टिम उपविजेता बन्न सफल भएको उहाँले बताउनुभयो ।

एकेडेमीमार्फत् प्रशिक्षक लामाले हेटौंडा–४, हुप्रचौरमा महिला तथा पुरुषको सिनियर तथा जुनियर खेलाडीलाई फुटबल प्रशिक्षण दिँदै आइरहनुभएको छ । पटेर्वा गाउँपालिकामा ३ वर्षदेखि गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ । हेटौंडा फुटबल एकेडेमीका खेलाडीलाई यसै वर्ष प्रतियोगितामा सहभागी गराएको उहाँले बताउनुभयो ।

Exit mobile version