Home मुख्य समाचार नेपालको पर्यावरण जोखिम

नेपालको पर्यावरण जोखिम

(रिमाल हेटौँडा–४ स्थित नवोदय शिशु सदनका शिक्षक हुनुहुन्छ ।)
सिएम रिमाल

नेपाल हिमालहरूको देश, जहाँ प्राकृतिक सुन्दरताले मान्छेको आँखा मात्र होइन, आत्मासमेत मोहित गर्छ । यहाँका झरनाहरूको मधुर सङ्गीत, वनहरूको हरियाली र हिमालहरूको बरफजस्तो चाँदीले सजिएको कञ्चन रूपलाई वर्णन गर्न शब्द अपुग भान हुन्छ तर आज यो सुन्दरता सङ्कटमा परेको छ । पर्यावरणको बिग्रँदो अवस्था नेपालका हरेक कुना–कुनामा महसुस गर्न सकिन्छ ।

नेपालको पर्यावरणलाई वर्णन गर्दा पहाडका चुचुराहरूलाई मातृस्वरूप मान्न सकिन्छ । यी चुचुराहरूले वर्षौंदेखि नदीहरूलाई जन्म दिएका छन्, जसले तराईका उर्वर जमिनलाई पोषण दिएको छ तर आज ती मातृभूत हिमालहरू आफैँ जलवायु परिवर्तनको पीडामा छन् । ग्लोबल वार्मिङको कारणले गहिरो छिद्रहरू परेको बरफको सतहलाई हेर्दा लाग्छ, माताको काख बिस्तारै दरारहरूले चिरिँदैछ ।

नेपालका नदीहरू केवल पानीका स्रोत मात्र होइनन्, जीवनका प्रतीक पनि हुन् । बागमती, कर्णाली र कोशी जस्ता नदीहरूले नेपाली समाजलाई सांस्कृतिक, आर्थिक र आध्यात्मिक रूपमा एकत्रित गरेको छ तर आज यी नदीहरू प्रदूषणको सिकार बनेका छन् । बागमती नदीलाई हेर्दा लाग्छ कुनै समयका तेजस्वी युवतीले आफ्नै अस्तित्व गुमाएकी छिन् ।

नेपालका वनहरूलाई हरियालीको गहना मानिन्छ तर यो गहना आज वन विनाशको परिणामस्वरूप हराउँदैछ । वन विनाशको प्रभावले जङ्गली जनावरहरू विस्थापित भएका छन् । जस्तो कि, बाघलाई आज जङ्गलको राजा होइन, लोपोन्मुख प्रजातिको सूचीमा राखिएको छ । यो हाम्रो पर्यावरणीय असन्तुलनको प्रतीक हो ।

काठमाडौँ उपत्यका र पोखरा उपत्यका, जसलाई कहिलेकाहीं “स्वर्गको टुक्रा” भनेर सम्बोधन गरिन्छ । आज धुलो र धुवाँको धुवाँधारमा हराएको छ । कुनै बेला सुगन्धित फूलहरूले महकिएको बगैँंचाजस्तो लाग्ने काठमाडौँ र पोखरा आज प्रदूषण र कोलाहलको सिकार भएको छ ।

तराईका हरियाली जङ्गलहरूलाई नेपाली जीवनको मुटु मान्न सकिन्छ तर आज ती जङ्गलहरू चुरे पहाडको कटान र मानवीय गतिविधिको कारणले सुक्दैछन् । चुरे पहाडका रूखहरूलाई काट्नासाथ नदीहरूले बगाउन नसक्ने माटोको मात्रा बढ्छ । फलस्वरूप तराईको उव्जाऊ भूमि बगरमा परिणत हुँदैछ । चुरेको क्षयलाई रोक्न नसकिए हामीले तराईलाई मरुभूमिमा परिणत भएको देख्न बाध्य हुन सक्छौँ ।
जङ्गल नेपाली संस्कृतिको अभिन्न हिस्सा हो । रुकुम, रोल्पा, चितवन जस्ता स्थानहरूमा भएका वन्यजन्तुहरू हाम्रो प्राकृतिक सम्पत्तिका धरोहर हुन् तर वन कटानी र शहरीकरणको कारण वन्यजन्तुहरूको बासस्थान खतरामा छ । बाघ, गैँडा र कस्तुरी मृगजस्ता दुर्लभ प्रजातिहरूमा मानवीय हस्तक्षेपको प्रभाव प्रस्ट देखिन्छ । वन्यजन्तुहरूसँगको सह–अस्तित्व भनेको मानव सभ्यताको दर्पण हो । जबसम्म हामी यो दर्पणलाई सुरक्षित राख्दैनौँ तबसम्म हाम्रो आफ्नै अस्तित्व जोखिममा रहन्छ ।
जलवायु परिवर्तनको प्रभाव नेपाली जनजीवनमा दिनप्रतिदिन स्पष्ट हुँदै गएको छ । नेपालमा विशेषगरी कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा यसले पु¥याएको नकारात्मक प्रभावलाई बेवास्ता गर्न सकिन्न ।

समयमै पानी नपर्नु वा असिनाको प्रकोपले गर्दा कृषिमा ठुलो क्षति पुगेको छ । परम्परागत खेती प्रणाली बिग्रँदा उत्पादनमा गिरावट आएको छ ।
उष्णकटिबन्धीय फलफूल र बाली पहाडी क्षेत्रसम्म विस्तार भएको देखिन्छ जसले मौसमी सन्तुलनको गम्भीर सङ्केत दिन्छ । हिमालय क्षेत्रमा हिमताल फुट्ने डरले साहसिक पर्यटकहरु घट्दैछन् । पर्यटकहरूको रोजाइको ठाउँमा मौसमको अनिश्चितता प्रमुख चुनौती बनेको छ । जलवायु परिवर्तनले नयाँ प्रकारका रोगहरू फैलाएको छ ।

उच्च तापक्रमका कारण फैलिने रोगहरू जस्तै ः मलेरिया र डेँगुको सङ्क्रमण पहाडी क्षेत्रमा समेत देखिन थालिसकेको छ । नेपालको प्राकृतिक स्रोतमा बढ्दो जनसङ्ख्या र अव्यवस्थित मानव गतिविधिको ठुलो प्रभाव परेको छ । तराई क्षेत्रमा कृषि भूमि र जङ्गललाई मासेर घर बनाउँदा भूमिगत जलस्रोत सुक्दै गएका छन् ।

बिनायोजना गरिएको सडक निर्माण र अन्धाधुन्ध खानी उत्खननले पहाडी क्षेत्रहरूको प्राकृतिक संरचनामा सङ्कट ल्याएको छ । भूमिगत जलको अत्याधिक उपयोगले जमिन धसिने समस्या निम्त्याएको छ । नेपालका तीर्थस्थल र सांस्कृतिक सम्पदाहरू पर्यावरणीय सन्तुलनसँग गहिरो सम्बन्धित छन् । बाग्मती नदी धार्मिक रूपमा पवित्र मानिए पनि यसको प्रदूषणले त्यसको महत्व घट््दै गएको छ ।

हिमालय केवल नेपालको भूगोल मात्र होइन, यसको पर्यावरणीय सन्तुलनको केन्द्र हो । हिमालयका हिमनदीहरूबाट उत्पन्न भएका नदीहरूले करोडौं मानिसको जीवनलाई निर्भर बनाउँछन् तर पछिल्ला केही वर्षमा हिमालय क्षेत्रमा हिमनदीहरू द्रुत गतिमा पग्लिरहेका छन् । गङ्गापूर्णा हिमताल, इम्जा हिमतालजस्ता ठाउँहरूले जलवायु परिवर्तनको प्रभावलाई प्रत्यक्ष रूपमा देखाएका छन् ।

हिमताल फुट्नाले हुने भयानक बाढी, जल स्रोतहरूको ह्रास, पिउने पानीको अभाव र मानवीय लापरबाही जलवायु परिवर्तनको प्रभाव हुन् । पर्यावरणीय समस्या सिर्जनामा केवल प्राकृतिक कारणहरू मात्र जिम्मेवार छैनन् । मानवले गर्दै आएको लापरबाहीले समस्यालाई झन् गहिरो बनाएको छ ।

प्लास्टिकले भूमि र पानीलाई प्रदूषित मात्र गर्दैन; यसले जैविक जीवनलाई समेत नकारात्मक असर पुर्‍याउँछ । त्यस्तै अव्यवस्थित शहरी विस्तारले हरियाली क्षेत्रहरू घटाइरहेको छ । जनतामा पर्यावरणीय चेतनाको कमी पनि समस्याको मुख्य कारक हो । पर्यावरण संरक्षणका लागि शिक्षाको अभावले मानिसहरूलाई वातावरणीय मुद्दाप्रति उदासीन बनाएको छ ।

नेपाल प्राकृतिक विपत्तिको दृष्टिले उच्च जोखिममा रहेको देश हो । २०७२ सालको महाभूकम्पपछि भएको पुनःनिर्माणले दिगो विकासमा जोड दिएन । अझै पनि, पुनःनिर्माणका लागि हरियालीयुक्त प्रविधि प्रयोग गर्नुपर्छ ।

चुरे क्षेत्रको संरक्षण र जलाशय निर्माणले बाढी नियन्त्रणमा सहयोग पु¥याउन सक्छ । भू–स्खलन रोक्न वृक्षारोपण र जैविक संरचनाहरूको प्रयोग गर्न सकिन्छ । नेपालले “हरित अर्थतन्त्र” को अवधारणालाई आत्मसात् गर्न सक्नुपर्छ । जलविद्युत र सौर्य ऊर्जाको उपयोगले ऊर्जा सङ्कट कम गर्न सकिन्छ । ग्रामीण क्षेत्रका घरहरूमा बायोग्यास प्रविधिको प्रवर्धन गर्न सकिन्छ । रासायनिक मल र विषादीको सट्टा जैविक मलको प्रयोगले माटोको उर्वरता जोगाउँछ । विदेशमा जैविक उत्पादन निर्यात गरेर देशको आयआर्जन बढाउन सकिन्छ ।

पर्यावरणमैत्री पर्यटनलाई प्रोत्साहन गर्न हिमाली क्षेत्रमा वातावरणीय प्रवर्धन गर्न सकिन्छ । पर्यटकहरूलाई स्थानीय संस्कृति र प्रकृतिमा जोड्न सकिने कार्यक्रम ल्याउन सकिन्छ ।
नेपालको पर्यावरणको संरक्षण भनेको केवल प्राकृतिक सम्पत्ति जोगाउनु मात्र होइन, आफ्नो पहिचान, संस्कृति र भविष्यलाई सुरक्षित राख्नु हो । प्रकृति हाम्रो मातृभूमि हो जसले हामीलाई संरक्षण गर्दछ । हामीले पनि आफ्नो मातृभूमिलाई माया गरेर, यसको सौन्दर्य र सम्पत्तिलाई जोगाउनुपर्छ ।

जब हामी प्रत्येक नेपालीले आफ्नो दायित्व पूरा गरेर प्रकृतिलाई सम्मान गर्ने दिन आउँछ तब मात्र नेपाल वास्तवमै हरियाली, सौन्दर्य र शान्तिको प्रतीक बन्न सक्छ । अझ सामुदायिक कार्यक्रमहरू गाउँगाउँमा ल्याउन सके गाउँस्तरमा वृक्षारोपण अभियान, नदी सफाइ कार्यक्रम र जैविक खेती प्रशिक्षणले सामूहिक योगदान सुनिश्चित गर्छ ।

त्यस्तै मिडियाको भूमिका पनि अहम हुन्छ । रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत वातावरणीय समस्याबारे जनचेतना फैलाउन सकिन्छ । नेपाल साना विकासशील राष्ट्रहरूको समूहको सदस्यको रूपमा जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय बहसमा आफ्नो आवाज उठाउँदै आएको छ । नेपालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका असरहरूलाई विश्वव्यापी मुद्दा बनाउन योगदान पु¥याएको छ । संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा नेपालले हरित परियोजनाहरू सञ्चालन गर्दैछ ।

वन क्षेत्रका आधारमा कार्बन क्रेडिटबाट आय आर्जन गर्दै जलवायु परिवर्तनको प्रभावलाई कम गर्न नेपालले कदम चालिरहेको छ । विद्यालय स्तरमै पर्यावरणीय शिक्षा अनिवार्य गरेर आगामी पुस्तालाई सचेत बनाउन सकिन्छ । नेपालको पर्यावरणलाई बचाउनु भनेको हाम्रो पहिचान, संस्कार र भविष्यलाई बचाउनु हो । हिमालका चुचुराहरू, वनका हरियाली र नदीका प्रवाहलाई जोगाउनु हाम्रो कर्तव्य हो । यो केवल प्रकृतिसँगको सम्बन्ध होइन, आत्मासँगको बन्धन पनि हो । त्यसैले सबै नेपालीले आफ्नो सानिध्यतामा पर्यावरण जोगाउने अभियानमा जुट्नुपर्ने बेला आएको छ ।

नेपालको पर्यावरणलाई संरक्षण गर्नु भनेको भावी पुस्ताका लागि सुनौलो भविष्य तयार गर्नु हो । जब हिमालय श्वेत वस्त्रमा सजिन्छ, नदीहरू स्वच्छताले बग्छन् र जङ्गलहरू हरियालीले झकिझकाउ हुन्छन् तब मात्र नेपालले पर्यावरणीय सङ्कटलाई परास्त गरेको ठहर हुनेछ । नेपालको पर्यावरणलाई जोगाउनु भनेको आफ्नै भविष्यको सुनौलो चित्र बनाउन योगदान गर्नु हो । आजका कार्यहरूले भोलिको नेपाललाई हरियाली, स्वच्छता र प्राकृतिक सम्पदाको धनी बनाउनेछ । नेपाल प्रकृतिको अद्वितीय वरदान हो, जसले हिमाल, पहाड, तराई र मधेशलाई एउटै सजीव शरीरझैं जोडेको छ । यहाँको पर्यावरण मात्र प्राकृतिक सम्पदाको कथा होइन; यो हाम्रो अस्तित्वको जरा हो । आज यो जरा मुनि बिस्तारै खिया लाग्दैछ र हामी यो प्रक्रियालाई बेवास्ता गर्न सक्दैनौँ ।

वन क्षेत्रलाई पुनस्र्थापित गर्न वृक्षारोपण अभियानलाई प्राथमिकता दिनुपर्छ । वन र नदी संरक्षणमा स्थानीय जनताको सक्रिय भूमिका हुनु महत्वपूर्ण छ । दिगो विकासका लागि नवीनतम प्रविधिहरू जस्तै सौर्य ऊर्जा, पानी पुनःचक्रण र जैविक खेतीलाई प्रवर्धन गर्नुपर्छ । भगवान बुद्धको जन्मस्थल लुम्बिनी पर्यावरणीय संरक्षणको दृष्टान्त हो । त्यहाँ वृक्षारोपण कार्यक्रमले पर्यावरणीय सन्देश दिएको छ । हिमाली क्षेत्रका बौद्ध गुम्बाहरूले “प्रकृतिसँगको सामन्जस्य” भन्ने सिद्धान्तलाई प्रचार गरेका छन् ।

पर्यावरणीय संरक्षणका लागि साहित्य, कला र संस्कृतिले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । पर्यावरणीय मुद्धालाई लोकगीत, झ्याउरे र मारुनी नृत्यमा समेटेर जनचेतना फैलाउन सकिन्छ । कविताहरू, निबन्धहरू र नाटकहरूले पर्यावरणीय संरक्षणको महत्व झल्काउन सक्छ ।

हिमाल, पहाड र तराईलाई प्रतीकात्मक रूपमा चित्रण गर्दै साहित्यले मानवीय चेतनालाई प्रभावित गर्न सक्छ । नेपालको पर्यावरणीय समस्यालाई समाधान गर्न सबै क्षेत्रका व्यक्तिहरूको सहभागिता आवश्यक छ । सरकारले कडा कानुन बनाउने र नवीकरणीय ऊर्जामा लगानी गर्ने कामको थालनी गर्नुपर्छ । सामुदायिक संस्थाहरूले वन संरक्षण, सामुदायिक तालाब र सिँचाइ परियोजनाहरूको परिकल्पना गरी त्यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्दछ युवा र विद्यार्थीले वृक्षारोपण कार्यक्रम, प्लास्टिक प्रयोग कम गर्ने अभियानमा जुट्नुपर्छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरूले आर्थिक सहयोग र आधुनिक प्रविधिको सुझावमा ख्याल गर्नुपर्छ । नेपालको पर्यावरणीय सुधार केवल कठिन कार्य होइन; यो प्रेरणादायी लक्ष्य पनि हो ।

नेपालको पर्यावरणीय समस्याको समाधान हाम्रो हातमा छ । यो हामी सबैको सामूहिक प्रयासले मात्र सम्भव छ । जब हिमालहरू फेरि शीतलता बोक्नेछन्, वन्यजन्तुहरूले फेरि निर्भीकता महसुस गर्नेछन् र नदीहरूले स्वच्छ पानी प्रवाह गर्नेछन् तब मात्र हामीले हाम्रो जिम्मेवारी पूरा गरेको ठहर हुनेछ ।

आउनुहोस्, प्रकृतिलाई फेरि जीवन्त बनाउने यो अभियानमा हामी सबै जुटौँ । “हरित नेपाल, उज्ज्वल भविष्य” हाम्रो सङ्कल्प हो । आउनुहोस्, हामी सबै मिलेर वातावरणको यो गाथालाई संरक्षण र पुनरुत्थानको महाकाव्य बनाऔँ । हिमालको शीतल छायाँमा हरियालीको गुनगुन आवाज फैलाऔँ ।

Exit mobile version