हेटौंडा : हेटौंडा अस्पतालमा रहेका २ वटा शवको पहिचान हुन सकेको छैन । हेटौंडा अस्पतालको शवगृहमा राखिएको बेवारिसे शवको पहिचान नहुँदा शव परिवारको जिम्मा लगाउन वा अन्त्येष्टि गर्न समस्या भएको हो ।
४–५ दिनसम्मका लागि मात्र शव राख्न मिल्ने शवगृहमा रहेका मर्चुरी क्षमता रहेको हेटौंडा अस्पतालका निमित्त निर्देशक डा.रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । बेवारिसे शवको पहिचान र अन्त्येष्टि अन्योल हुँदा शव व्यवस्थापनमा प्रहरीलाई समस्या भएको उहाँले बताउनुभयो । अस्पतालमा महिनौंसम्म शव राख्न मिल्ने मर्चुरी क्षमता नहुँदा अस्पतालले यस्तो समस्या झेलिरहनु परेको उहाँको भनाइ छ । महिनौंसम्म शव राख्न मिल्ने मर्चुरी ल्याउन अस्पतालले पहल गरिरहेको डा. सापकोटाले जानकारी दिनुभयो ।
सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार चितवनको रत्ननगर नगरपालिका–१६, पिठुवाका ५६ वर्षीय निमबहादुर थापाको मृत्यु भयो । मृतक थापाको शवलाई पोस्टमार्टम गर्न सोही दिन हेटौंडा अस्पतालमा ल्याउँदा शव राख्ने ठाउँमा दुर्गान्धित भएपछि मर्चुरी नै बिग्रेको भन्दै मृतकका आफन्तले आक्रोश पोखेका थिए ।
मृतकका आफन्त डिल्लीप्रसाद गौतमले ७ महिनादेखि किरा भन्किरहेको अवस्थामा शव रहेको पाइएको बताउनुभयो । उहाँले लामो समयसम्म शव राख्न मिल्ने मर्चुरीको व्यवस्था गर्न आग्रह गर्नुभयो । हेटौंडा अस्पताल बचाउ अभियानकर्ता रामशरण कार्कीले हेटौंडा अस्पतालमा रहेका शव पहिचान गर्न मिल्ने अवस्थामा नरहेको बताउनुभयो । पूर्व–पश्चिम राजमार्गमा बढी दुर्घटना हुने भए पनि अस्पतालमा थप मृतकको शव राख्ने ठाउँसमेत नभएको उहाँले बताउनुभयो । हेटौंडा अस्पतालको लावारवाहीका कारण शवसमेत पहिचान गर्न नसक्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।
न्यून संख्यामा मर्चुरी हुँदा शव राख्न समस्या भइरहेको छ । लगभग सबैजसो फ्रिज भरिभराउ नै हुन्छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बाह्र वर्षसम्म सुरक्षित रहनसक्ने गरी शव राख्नुपर्ने कानुनी प्रावधान छ ।