हेटौंडा: मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा आज आइतबारबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदैछ । हेटौंडा–४, हुप्रचौरमा १५ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । प्रतियोगिता मंगलबारसम्म सञ्चालन हुने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा मकवानपुरको विभिन्न पालिकामा भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु सहभागी हुने अध्यक्ष मोक्तानले बताउनुभयो । प्रतियोगिता अन्तर्गत एथ्लेटिक्स, कबड्डी, भलिबल, कराँते, उसु, तेक्वान्दोका खेलहरु सञ्चालन हुने उहाँले बताउनुभयो ।
कराँते, उसु, तेक्वान्दो हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने उहाँले बताउनुभयो । एथ्लेटिक्स हुप्रचौरमा र भलिबल हुप्रचौरको भलिबल कोर्टमा सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले बन्द प्रशिक्षणमा राखेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराउने उहाँले बताउनुभयो । जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताबाट भलिबल र कबड्डीतर्फ उत्कृष्ट प्रदर्शनी गर्ने छात्र तथा छात्रा छनोट गरेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने उहाँले बताउनुभएको छ । तेक्वान्दो, उसु, कराँते, एथ्लेटिक्सका खेलहरुमा प्रथम हुने खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने उहाँले बताउनुभयो ।
१४ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको थियो । हेटौंडाले २० वटा स्वर्ण, ७ वटा रजत र १९ वटा काँस्य पदक प्राप्त गर्दै उपाधि जितेको थियो । बकैया गाउँपालिकाले १२ वटा स्वर्ण, १० रजत र ८ वटा काँस्य पदक प्राप्त गर्दै द्वितीय र थाहा नगरपालिकाले ७ वटा स्वर्ण, ८ वटा रजत र १३ वटा काँस्य पदक प्राप्त गरेर तृतीय भएको थियो ।