समृद्ध समाज राष्ट्रिय दैनिकका संवाददाता रोहित थापालाई सम्मान गरिँदै ।

हेटौँडा : समृद्ध समाज राष्ट्रिय दैनिकका संवाददाता रोहित थापालाई हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले सम्मान गरेको छ । वडाले आयोजना गरेको एक महिना लामो दोस्रो खेलकुद महोत्सव–२०८१ र वडा कार्यालयद्वारा सम्पादन भएका विविध गतिविधिहरु प्रकाशन, प्रसारण गरी सहयोग पुर्‍याएको भन्दै थापालाई सम्मान गरिएको हो ।

माघ ९ गतेदेखि सुरु भई फागुन ५ गतेसम्म सञ्चालन भएको दोस्रो खेलकुद महोत्सव–२०८१ को बुधबार पुरस्कार वितरण समारोहमा संवाददाता थापालाई नगद ५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । थापा समृद्ध समाज राष्ट्रिय दैनिकका लागि खेलकुद विटमा समाचार लेख्नुहुन्छ । वडा शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा बुधबार पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा वडाअध्यक्ष नवीन सिग्देलको पनि उपस्थिति रहेको थियो ।

पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीले नृत्य कला प्रस्तुत गरेका थिए । वडाले वडास्तरीय र नगरस्तरीय विविध प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा विद्यालय तहका विद्यार्थीको सहभागिता रहेको थियो । नगरका १९ वडामध्ये ४ नम्बर वडाले विद्यालय तहको शिक्षा सुधार तथा विद्यार्थीका लागि खेलकुद तथा रचनात्मक क्रियाकलापको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ ।