हेटौँडा : नेपाल सरकारले मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई प्रधानमन्त्री राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । बिहीबार प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष अधिकारीलाई ५ लाख राशिको युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गर्नुभएको हो ।
अधिकारीले एक दशकभन्दा बढी समयदेखि सडकमा आश्रित बेसाहारा मानिसको उद्दार, पुनस्र्थापना र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मानवसेवा आश्रमको नेतृत्व गर्दै आउनुभएको छ । २३ वर्षको उमेरदेखि सहयोगापेक्षीहरुको सेवामा लाग्नुभएका अधिकारीले नेपालको ७ प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्र विस्तार गरिसक्नुभएको छ । जहाँ १ हजार ७ सय भन्दा बढी सहयोगापेक्षी आश्रित रहेको संस्थापक अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
अधिकारी नेतृत्वको मानवसेवा आश्रमले मेची–महाकाली अभियान अन्तर्गत कुहिएर, शरीरमा किरा परेर जीवनको अन्तिम श्वास फेरिरहेका सहयोगापेक्षी, आन्दाजी ७०–७५ वर्षीया आमा समेत सामूहिक बलात्कृत भएर सडकपेटीमा प्राण त्याग्नु भएका, एउटा मानसिक स्वास्थ्य ठीक नहुँदा सडक जीवन जिउन पुग्नुभएकी बलात्कृत महिला र ती बलात्कृत महिलाबाट जन्मेका बालबालिकाहरुको उद्दार गर्दै आएको छ । मानवसेवा आश्रम २०८२ सालसम्ममा नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त देश घोषणा गर्ने र त्यसको पूर्णरूपमा कार्यान्वयनको अभियानमा समेत अग्रसर छ ।
मानवसेवा आश्रमको कार्यलाई संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले प्रशंसा गर्दै सहकार्य गर्दै आएको छ । देशभर आश्रमको भवन निर्माणमा तीनै तहका सरकारसँग मानवसेवा आश्रमले सहकार्य गर्दै आएको छ । नेपाल सरकारले प्रत्येक वर्ष २ जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । तर विगत ५ वर्षदेखि कोरोना महामारीका कारण प्रधानमन्त्री राष्ट्रिय युवा प्रतिभा पुरस्कार वितरण रोकिएको थियो । जसले गर्दा यसवर्ष भने एक विशेष समारोहकाबीच १० जनालाई प्रधानमन्त्री राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिने निर्णय सरकार गरिएको संस्थापक अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।