हेटौँडा : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेल जित्दै एपीएफ क्लब सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
बागमती गाउँपालिका–४ स्थित सहिद स्मृति रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा संकटा क्लबलाई १–० गोलअन्तरले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफलाई जीत दिलाउन सुजन कुमार पुलामीले ८३ औं मिनेटमा निर्णायक गोल गरे । पुलामी खेलको ८१ औं मिनेटमा अनिष महर्जनको स्थानमा मैदान प्रवेश गरेका थिए ।
म्यान अफ द म्याच एपीएफका मणि कुमार लामा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि एपीएफ भरतपुर एफसीलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने संकटा भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको हो । गोल्डकपमा संकटा र एपीएफ यसअघिका संस्करणको उपविजेता टोलीहरु हो । एपीएफ छैठौं संस्करणमा मछिन्द्र क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो भने संकटा पाँचौ संस्करणमा क्यामरुनको भुटनिज स्पोट्र्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।
फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।