वत्सराज कोइराला

राजनीति

एकादेशमा एउटा राजा थियोे । उसले राज्य सञ्चालन निम्ति एउटा विश्वासप्राप्त मन्त्री नियुक्त गरेको थियो । मन्त्री निकै सिपालु र चतुर थियो । उसले राजालाई हरतरहले सहयोग गर्दथ्यो । मन्त्रीको कामकाजबाट राजा पनि सन्तुष्ट थियो । तर दरबारका सभासदहरुले मन्त्रीलाई पटक्कै मन पराउँदैनथे । उनीहरू त्यस मन्त्रीका विरुद्ध अनेक षडयन्त्र रच्दथे । सभासदहरुले मौका मिल्नासाथ राजासमक्ष मन्त्रीको चुक्ली लगाउँथे । तर राजाले आफ्नो मन्त्रीको विपक्षमा सुनेका कुरा हावामा उडाइदिन्थ्यो ।

एकपटक राज्यको एक नगरमा सत्ता नामक भयानक रोग फैलियो । त्यस संक्रामक रोगको कारण राजा चिन्तित हुन पुग्यो । न रातको निद्रा, न दिनको भोक । राज्यलाई हेर्ने कि त्यो नगरलाई ? राजालाई बडो आपत परेको थियो । राजाको यस्तो चिन्ता देखेर मन्त्रीले एकदिन दरबारमा सभासदहरुको बैठक डाक्यो । मन्त्रीले त्यस बैठकमा सत्ता नामको त्यो असम्भव रोग नियन्त्रण गर्नका लागि सबै सभासदहरु एकजुट भएर लाग्नुपर्ने बतायो । त्यस कामको लागि आवश्यक पर्ने पर्याप्त स्रोत साधन उपलब्ध गराई सभासदहरुलाई संक्रमित नगरमा खटाइयो ।

सबै सभासदहरु रोग निर्मूल अभियानमा एक भई जुटे । उनीहरूले आवश्यक सबै उपाय अपनाए पनि रोग नियन्त्रण गर्न सकेनन् र न्याउरो मुख लिएर राजधानी फर्के । उता रोगको रोकथाम गर्न नसकेकोमा सभासदहरु दिक्क मानिरहेका थिए तर यता मन्त्री झन् खुशी भएको थियो । किनभने अब कुनै सभासदले आफू विरुद्ध केही बोल्ने हिम्मत गर्ने छैन । मन्त्रीले आफ्नो शासन सत्ता विरुद्ध बोल्ने सभासदहरुको आवाज बन्द गरिदिएकोमा राजा निकै खुशी थियो । यसरी सर्प पनि मरेको र लठ्ठी पनि नभाँचिएकोमा मन्त्री मख्ख पर्‍यो ।