हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य पदार्थ निकासीबाट १२ करोड ४९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गाउँपालिकाले नदीजन्य पदार्थ ढुङ्गा, गिटी र बालुवा निकासी गरेर सो रकम संकलन गरेको गाउँपालिकाले जानकारी दिएको छ । कोरोना भाइरस फैलन नदिन सरकारले लगाएको लकडाउनका कारण नदीजन्य पदार्थ संकलनमा अनुमानित राजश्व संकलन गर्न नसकेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले गएको आर्थिक वर्षमा सम्पती कर मार्फत १ करोड ४२ लाख ८ सय ४७ रुपैयाँ राजश्व संकलन भएको गाउँपालिकाले जानकारी दिएको छ । त्यस्तै घरबहाल करबाट ४ लाख रुपैयाँ, नक्सा पास करबाट ७ लाख ९५ हजार रुपैयाँ, सिफारिस दस्तुरबाट ४५ लाख ८० हजार रुपैयाँ राजश्व संकलन भएको गाउँपालिकाका राजश्व संकलन शाखाका प्रमुख राजेन्द्र प्रसाद चौलागाईंले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाले व्यवसाय करबाट २ लाख ५८ हजार रुपैयाँ, मालपोत करबाट १४ लाख ९९ हजार रुपैयाँ, दण्डजरीवानाबाट ४ लाख ५८ हजार रुपैयाँ राजश्व संकलन भएको छ भने व्यक्तिगत घटना दर्ताबाट ८ लाख १२ हजार रुपैयाँ संकलन भएको चौलागाईले बताउनुभयो । गाउँपालिकाले गत आर्थिक वर्षमा वातावरण संकलन शूल्कबाट २० लाख ७७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।