हेटौँडा : बागमती गोल्डकप प्रतियोगितामा आर्मीलाई हराउँदै चर्च व्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो ।
बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरी पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । चर्च व्वाइज प्रतियोगितामा नयाँ टोली हो । चर्च व्वाइजका लागि टाइब्रेकरमा विदेशी खेलाडी अर्मान विडम र अनयोमीसहित सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोलले गोल गरे ।
आर्मीका लागि विमल पाण्डे, फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्र सिं थापाले रोके । खेलको म्यान अफ द म्याच गोलरक्षक थापा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । उनलाई बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणिन्द्र तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतले ट्रफी र नगद प्रदान गरे ।
फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।