ओमनगर क्रिकेट क्लबलाई ट्रफी हस्तान्तरण गरिँदै ।

हेटौँडा : मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिताको उपाधि ओमनगर क्रिकेट क्लबले जितेको छ । आइतबार हेटौँडा–४, हुप्रचौरमा आइतबार भएको प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिताको फाइनल खेलमा मकवानपुर क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै ओमनगर क्रिकेट क्लबले उपाधि जितेको छ ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट बलर मकवानपुर क्रिकेट क्लबका निश्चल दुलाल, उत्कृष्ट व्याट्सम्यान ओमनगरका गौरव खड्का र प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी ओमनगरका रोहित ठाकुर घोषित हुँदै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

टस जितेर पहिले व्याटिङ गरेको मकवानपुर क्रिकेट क्लबले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय १६ रन बनाएको थियो । मकवानपुर क्रिकेट क्लबका तक्षक सिम्खडाले सर्वाधिक ३२ रन बनाएका थिए । यस्तै, आशिक अधिकारीले १६ रन र सुमन सुनारले १२ रन बनाएका थिए । विशेष थापा र शिवशक्ति महतोले समान १०/१० रन मात्र बनाए ।

बलिङतर्फ ओमनगरका अहमद राजाले सर्वाधिक ३ विकेट लिए । रोहित ठाकुरले २ विकेट लिएका थिए । मकवानपुर क्रिकेट क्लबले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको ओमनगर क्रिकेट क्लबले १२ ओभर २ बलमा १ सय १८ रन बनाएको थियो । ओमनगरबाट शुभ कंशाकारले ५१ रन बनाए । यस्तै, गौरव खड्काले ३४ रन र आशिक दहालले १७ रन बनाएका थिए । गोकुल अधिकारीले ७ रन मात्र जोड्न सफल भए । म्यान अफ द म्याच ओम नगरका शुभ कंशाकार घोषित भएका छन् ।

प्रतियोगितामा सहभागी भएका खेलाडीहरुमध्ये पहिलो चरणमा १८ जना र दोस्रो चरणमा १४ जना छनोट गरी जिल्ला टिम तयार गर्नेछ । छनोट प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महतरा क्षेत्रीको सभाध्यक्षमा तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तान, क्रिकेट संघ मकवानपुरका पूर्वअध्यक्ष वासुलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।