म्यान अफ द म्याचको ट्रफी प्रदान गरिँदै ।

हेटौँडा : पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा शनिबारबाट सुरु भएको सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जित निकालेको छ । सहिद स्मृति रंगशालामा आइतबार भएको खेलमा साविक उपविजेता एफपीएफले जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको छ । एफपीएफले चितवन जिल्लाको हानामी बिएफसीलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले पराजित गरेको छ ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मणि कुमार लामाले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । बिएफसीका अमन लामाको प्रहार मात्रै गोलमा परिणत भयो । बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले रोक्दा विदेश खेलाडी बफरको प्रहार पोष्टबाट बाहिर पुगेको थियो । एपीएफका गोलरक्षक श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई जनही १ लाख १ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ भने अन्य विधागत उत्कृष्ट खेलाडीहरुका लागि २५ हजार रुपैयाँका नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन भएको हो । प्रतियोगिता अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताका लागि गाउँपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि मकवानपुरको १० वटै पालिकाबाट, सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँग पनि सहयोगका लागि पहल गरिएको बताइएको छ ।