उपाधि भिड्ने दुइटिम

हेटौंडाः हेटौंडा–४, हुप्रचौरमा सञ्चालन भइरहेको प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिताको फाइनल खेल आज आइतबार हुँदैछ । फाइनल खेलमा मकवानपुर क्रिकेट क्लब र ओमनगर क्रिकेट क्लबबीच उपाधि भिडन्त हुने भएको छ ।

मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा बिहीबार भएको पहिलो खेलमा जित निकाल्दै मकवानपुर क्रिकेट क्लब र दोस्रो खेलमा जित निकाल्दै ओमनगर क्रिकेट क्लबले फाइनलको यात्रा तय गरेको हो । पहिलो खेलमा मकवानपुर क्रिकेट क्लबले मकवानपुरगढीलाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा कमाने क्रिकेट क्लबलाई ओमनगरले ३० रनले हराएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरगढीको टिमले निर्धारित २५ ओभरमा ९ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो । रितेश अधिकारीले ३८ रन बनाएका थिए भने सागर लामिछानेले ३७ रन बनाएका थिए । यस्तै, विनम्र अधिकारीले १३ रन बनाएका थिए । बलिङतर्फ मकवानपुर क्रिकेट क्लबका रामनरेश गिरीले सर्वाधिक ३ विकेट लिएका थिए । टिम कप्तान सुमन सुनार र शिवशक्ति महतोले समान २/२ विकेट लिएका थिए । म्यान अफ द म्याच सुमन सुनार घोषित भए ।

१ सय २० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको मकवानपुर क्रिकेट क्लबले १२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । तक्षक सिम्खडाले २२ रन, सुमन सुनारले १९ रन, इरफान अलीले १८ रन र विशेष थापाले १३ रन बनाएका थिए ।

यस्तै, बिहीबार नै भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमनगरले निर्धारित २५ ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । गौरव खड्काले ५९ रन र रोहित ठाकुरले ४४ रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रिएको कमानेले निर्धारित २५ ओभरमा १ सय ५१ रन बनाउँदै अल आउट भयो ।

प्रतियोगितामा सहभागी भएका खेलाडीहरुमध्ये पहिलो चरणमा १८ जना खेलाडी छनोट गरेपछि १४ जनालाई प्रारम्भिक सूचीमा राख्ने क्यान मकवानपुरले जनाएको छ । छनोट प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोकृष्ट खेलाडी, सर्वोकृष्ट ब्याट्सम्यान, सर्वोकृष्ट बलरलाई पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । संजोक पोखरेलको संयोजनमा सञ्चालन भएको प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहेको थियो ।