बागमती : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताप्रति इमान्दार भएर परिवर्तनको संवाहक माओवादी नै हो भन्ने विषय प्रष्ट भएको बताउनुभएको छ । विगतमा माओवादीलाई अवमूल्यन गरेको नागरिकलाई महसुस भइरहेको उहाँले बताउनुभयो ।
मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले माओवादीप्रतिको विश्वास ह्वात्तै बढेको पनि दावी गर्नुभयो । सरकारमा वा सरकारबाट हटेपछिको नागरिक सम्वाद, अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उहाँले बताउनुभयो । नागरिकले देशभर नै एकपटक माओवादीलाई विश्वास गरेको अवस्था रहेको प्रचण्डले बताउनुभयो ।
‘म गएको ठाउँमा नागरिकका लागि काम गर्ने माओवादी नै रहेछ भन्ने अवस्था बनेको छ । माओवादीप्रतिको विश्वास अलिअलि होइन धेरै नै बढेको छ’, प्रचण्डले भन्नुभयो, ‘विचौलिया र भूमाफिया विरुद्ध अभियान चलाउँदा नागरिकहरुमा थोरै आशा पलाएको छ । सोही कारणले माओवादी केन्द्रको लोकप्रियता बढेको हो । माओवादीप्रतिको लोकप्रियतालाई हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनले पनि प्रष्ट बनाएको छ । माओवादीका लागि यो अवसर पनि हो । यो अवसर सधै पाइन्न ।’
उहाँका अनुसार आफू तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा नागरिकप्रति उत्तरदायी भएर काम गर्नुपर्छ भन्ने अठोट लिएर सरकारमा गएको हो । रेकर्ड कायम गर्ने, माओवादी प्रतिको हस्तक्षेप विरुद्ध केही गर्ने संकल्पका कारण भ्रष्ट्राचार विरुद्धका अभियानहरु संचालन गरिएको उहाँको भनाई छ । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी अघि बढ्ने तयारीमा रहेको जानकारी गराउनुभयो । आउने निर्वाचनमा जाँदा क्लिन स्विप गर्ने गरी तयारी गर्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । सुशासनको दृष्टिकोणबाट ११ वटा स्थानीय तहमा माओवादी केन्द्रको राम्रो रहेको अध्यक्ष प्रचण्डको भनाई छ । पार्टीमा नागरिकको आस्था बढेकाले कमि–कमजोरीलाई सुधार गर्दै विगतमा हारेका क्षेत्रमा जित्ने अवस्था बनिरहेको उहाँले बताउनुभयो ।