हेटौँडा : चितवन, धादिङ, सिन्धुपाल्चोक र रामेछाप जिल्लामा भएका विभिन्न घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जनाको शव भेटिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–९ मा शुक्रबार भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जंगल नजिक बा ११ च ९२४३ नम्बरकोे कारले ना ३० प ७९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ५२ वर्षीया दुखिराम दराईको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । मोटरसाइकल चालक दराईको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालक वर्ष ३६ का प्रविन अधिकारी प्रहरीको नियन्त्रणमा रहेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी नगरपालिका–१० मा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रिपरमा सवार सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१० का ४० वर्षीय यम बहादुर माझी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । माझीको उपचारका लागि जिल्ला अस्पताल चौतारातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्रिपर सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रिपर चालक ४९ वर्षीय रेसम बहादुर खड्का, ट्रिपरमा सवार ३२ वर्षीय भक्त बहादुर माझी र ४५ वर्षीय कमल कार्कीे घाइते भएका छन् । उनीहरु तीनैजना चौतारा साँगाचोकगढी नगरपालिका १० का स्थायीवासी भएको प्रहरीले जनाएको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रामेछाप जिल्लाको सुनापति गाउँपालिका–५, सिकवारीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप खाँडादेवी गाउँपालिका–४, माडीमुहानका ४० वर्षीय गोकर्ण कार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । घरबाट ससुराली जान्छु भनी हिँडेका कार्की भिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै चितवन जिल्लाको भरतपुर महानगरपालिका–१७ स्थित नारायणी नदीमा शव फेला परेको छ । भरतपुर महानगरपालिका–१७ दियालो सामुदायिक वनको पछाडी रहेको नारायणी नदिको बीच भङ्गालोमा दाउरा निकाल्न जाने क्रममा भरतपुर महानगरपालिका–१७ का ३५ वर्षीय राजन सार्कीको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्याालयले जनकारी दिएको छ । यता धादिङ जिल्लाको धुनिवेशी नगरपालिकाको खानीखोलामा ६० वर्षीय पुरुषको शव भेटिएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले उल्लेख गरेको छ ।