हेटौँडा : शुक्रबार साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११, थानाभर्‍याङमा ट्रक र अटो ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । शुक्रबार साँझ ७ बजेर ५० मिनेटको समयमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिँदा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६, खयरघारीकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी बम्जनलाई उपचारका लागि हेटौँडा–११, थानाभर्‍यास्थित सीएमसी चुरेहिल हस्पिटल लगिएको थियो । बम्जनको शुक्रबार राती ९ बजेर २० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी अटो चालक हेटौँडा–१९, बासघारीका २५ वर्षीय राजु थिङको टाउकोमा चोट लागेर स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अटोमा सवार ११ वर्षीय अमृत घिसिङको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ । अमृत पूजाको छोरा भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्रक चालक चितवन जिल्लाको राप्ती नगरपालिका–२, पिप्लेका ४८ वर्षीय कान्छा राईलाई नियन्त्रणमा लिएको छ ।