हेटौँडा : विद्यार्थीका रचनालाई स्थान दिएर विद्यार्थीलाई लेख्न प्रेरित गरेको भन्दै समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ सम्मानित हुनुभएको छ । हेटौँडा–१६, हटियास्थित रेडरोज इंग्लिस बोर्डिङ स्कूलले शुक्रबार ३४ औं अभिभावक दिवसको अवसर पारेर सम्पादक श्रेष्ठलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
समृद्ध समाज दैनिकले विद्यार्थीमा पठन संस्कृतिको विकास तथा लेखन अभ्यासलाई पनि प्रेरित गर्ने गरी बुधबार र शनिबार विद्यार्थीका लेख, निबन्ध, कविता, कथा, मुक्तक, गजल, चित्रकला समावेश गर्ने गरेको छ । बुधबार पेज २ र ३ मा विद्यार्थीका रचनासँगै विद्यार्थी परिचय समेत प्रकाशन गर्ने गरिएको छ भने शनिबार पनि पेज २ र ३ मा विद्यार्थीका रचनालाई समावेश गर्ने गरिएको छ । विद्यार्थीलाई अध्ययन सँगसँगै लेखनमा पनि प्रेरित गर्न सक्दा विद्यार्थीमा पठन संस्कृतिको विकाससँगै अभिव्यक्ति कलाको विकास हुने ठहर गर्दै समृद्ध समाज दैनिकले विद्यार्थीलाई लेखनमा प्रेरित गर्ने गरेको छ ।

सम्मानपछि बोल्नुहुँदै सम्पादक श्रेष्ठले विद्यार्थीलाई लेखनका लागि प्रेरित गर्ने उद्देश्यले शिक्षकको सहयोगमा उल्लेखनीय कार्य हुँदै आएको बताउनुभयो । विद्यार्थीलाई शिक्षक र घर परिवारले पनि सहजीकरण गरिदिने हो भने विद्यार्थीको नियमित पठनपाठनका साथसाथै समसामयिक तथा आफ्नो रुचिको क्षेत्रमा अध्ययन गरेर लेख्न विद्यार्थी तयार हुने गरेको सम्पादक श्रेष्ठको दावी छ । विद्यार्थीलाई सुरुवाती समय लेखनमा आकर्षित गर्न मिहिनेत गर्नु परे पनि पत्रिकामा रचना प्रकाशित हुन थालेपछि विद्यार्थीहरु लेखनमा सक्रिय हुने गरेको उहाँले जानकारी दिनुभयो ।

पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नै रेडरोजले अभिभावक दिवसको अवसरमा अतिथिलाई मायाको चिनोस्वरुप पुस्तक प्रदान गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन दाहालको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, हेटौँडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।
अभिभावक दिवसको अवसरमा अभिभावक, शिक्षक, विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । विद्यालयले ३ वर्ष भन्दा बढी अवधि सेवा गरेका शिक्षकहरु प्रयास अधिकारी, पूर्णिमा पोखरेल र सुजिता रुम्बालाई सम्मान गरेको छ । यस्तै अभिभावकतर्फ सम्झना सुवेदी, सविता विडारी, कृष्णमाया मोक्तान र सृजना अधिकारीलाई सम्मान गरेको छ । २०८० को एसईईमा ३.६ जीपीए भन्दा बढी अंक हासिल गरी उत्तीर्ण हुने विद्यार्थीहरु कृष्मा गजुरेल, रिकास धिताल, मिस्मा थापा मगर, अनुशासित विद्यार्थी कक्षा ९ का कुशल राना र कक्षा ८ युनिका गरन्जालाई पनि सम्मान गरिएको छ ।
लेखन कलामा विद्यार्थी प्रेरित भएकै कारण हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल र हेटौँडा–८, कमानेस्थित कमाने एकेडेमीले पत्रिकाको स्थान खरिद गरेर साप्ताहिक र पाक्षिक रुपमा विद्यार्थीका रचना प्रकाशन गर्दै आएको छ । यसअघि हेटौँडा–१८, हर्नामाडीस्थित मकवानपुर बालविद्या सदनले पनि साताको दुई दिन विद्यार्थीका रचना समृद्ध समाज राष्ट्रिय दैनिकमा प्रकाशन गर्दै आएको थियो ।