म्यान अफ द म्याच गोकुल अधिकारीलाई ट्रफी हस्तान्तरण गरिँदै ।

हेटौंडा: मधेश प्रदेशको बारा जिल्लामा जारी ५ औं संस्करणको डुमरवान क्रिकेट प्रतियोगिताको फाइनलमा मकवानपुर क्रिकेट एकेडेमी प्रवेश गरेको छ । आइतबार बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा भएको समूह चरणको खेलमा दोस्रो जीत निकालेसँगै घरेलुटोली मकवानपुरको टिमले फाइनलको यात्रा पूरा गरेको हो ।

मकवानपुर क्रिकेट एकेडेमीले चितवन जिल्लाको इस्टर्न क्रिकेट संघलाई २० रनले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको मकवानपुर क्रिकेट एकेडेमीले १९ ओभर २ बलमा १ सय ५५ रन बनाउँदै अल आउट हुन पुगेको थियो । मकवानपुरका लागि गोकुल अधिकारीले ४५ बलमा सर्वाधिक ५६ रन बनाउँदै अर्धशतक बनाएका थिए । टिम कप्तान सुमन सुनारले ४८ बलमा ३० रन बनाएका थिए ।

मकवानपुरले दिएको १ सय ५६ रनको लक्ष्य पच्छ्याएको चितवनको इस्टर्न क्रिकेट संघले ९ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १ सय ३५ रनमात्र जोड्न सक्यो । मकवानपुरबाट शुभ कंसाकारले २ ओभरमा १४ रन दिँदै सर्वाधिक ५ विकेट लिएका थिए । ४ ओभरमा ३१ रन दिएका समीर चौलागाईंले २ विकेट थिए भने ४ ओभरमा ८ रन दिएका विशाल फुयाँलले कुनै पनि विकेट लिन सकेनन् । खेलको म्यान अफ द म्याच मकवानपुरका गोकुल अधिकारी घोषित भएका छन् ।

प्रगतिशील युवा क्लबको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा मकवानपुरसहित ६ वटा टिमको सहभागिता रहेको मकवानपुर क्रिकेट संघका सचिव विनोदकुमार बानियाँले जानकारी दिनुभएको छ । प्रतियोगिता आगामी फागुन ३ गतेसम्म सञ्चालन हुने सचिव बानियाँले बताउनुभयो । प्रतियोगितामा गौर क्रिकेट क्लब, इस्टर्न क्रिकेट एकेडेमी, मकवानपुर क्रिकेट संघ, पर्सा क्रिकेट संघ, कलैया क्रिकेट क्लब र आयोजक प्रगतिशील युवा क्लबको सहभागिता रहेको छ । गतवर्ष भएको चौथो संस्करणको प्रतियोगिताको उपाधि मकवानपुरले जितेको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडी तथा विधागततर्फ म्यान अफ द सिरिज, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरका लागि पनि पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।