हेटौंडा: हेटौंडा सिमेन्ट उद्योगमा हुने गरेको भ्रष्टाचार र अनियमितता रोक्न सके उद्योग नाफामा जाने उद्योगका मजदुर संगठनले दावी गरेका छन् । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा रहेको नेपाल कारखाना श्रमिक संघ र अखिल नेपाल औद्योगिक मजदुर संघले आइतबार गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको हो ।
नेपाल सरकारको स्वमित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योग ६ महिनाभन्दा बढी समयदेखि बन्द छ । प्रत्यक्ष अप्रत्यक्ष हजारौंले रोजगारी पाइरहेका उक्त उद्योग साढे ६ महिनादेखि बन्द हुदा मजदुरहरुको दैनिकी कष्टकर बनेको मजदुर संघको भनाइ छ ।
ट्रेड युनियनका अनुसार उद्योग प्रशासन र व्यवस्थापनले सिमेन्ट बिक्री गरेको बक्यौता समयमै उठाउन नसक्दा उद्योग घाटामा गएको हो । ७/८ वर्ष अगाडि उधारोमा सिमेन्ट बिक्री गर्न थालेपछि उद्योगमा समस्या बढ्दै गएको हो । ‘३ वर्षअगाडि उद्योग १० करोड रुपैयाँ घाटामा रहँदा उधारोमा बिक्री गरेको सिमेन्टको बक्यौता रकम नै १० करोड रुपैयाँभन्दा बढी असुलउपर गर्नुपर्ने थियो’, मजदुर संघले भनेको छ– ‘उक्त रकम त्यही समयमा उठाउन सकेको भए आज अरबौं घाटामा नभई उद्योग नाफामा सञ्चालन भइरहेको हुन्थ्यो ।’
उद्योगका व्यवस्थापकले चुनढुङ्गा खरिद गर्दा ३५ प्रतिशतसम्म माटो भएको ढुङ्गा खरिद गरेको र उक्त माटोलाई पनि ढुङ्गासरह मूल्य भुक्तानी गर्दा उद्योगले ठूलो क्षेति व्यहोर्नु परेको ट्रेड युनियहरुको भनाइ छ । बजार भाउभन्दा दोब्बर मूल्यमा कोइला खरिद गर्ने गरेका कारण पनि उद्योगको यो अवस्था आएको ट्रेड युनियनले जनाएको छ । यस्ता अनियमिततालाई रोक्ने हो भने सिमेन्ट उद्योग नाफामा जाने पक्का रहेको बताइएको छ ।
स्थानीय संघर्ष समितिको आरोपमा असन्तुष्टि
हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि दबाब दिने उद्देश्यले गठन भएको स्थानीय संघर्ष समितिले ट्रेड युनियन नै मजदुरको पक्षमा नरहेको उभिव्यक्तिप्रति संघले असन्तुष्टि जनाएको छ । सुरेश बोरोजगारको अध्यक्षतामा स्थानीय संघर्ष समित गठन भएको छ । उक्त समितिले गत बिहीबार र्यालीसहित उद्योगका महाप्रबन्धकलाई ध्यानाकर्षणपत्र बुझाएको छ । उक्त कार्यक्रममा नेपाल कारखाना श्रमिक संघ र अखिल नेपाल औद्योगिक मजदुर संघका पदाधिकारीहरु उपस्थित भएका थिएनन् ।
स्थानीय संघर्ष समितिले आफूहरुलाई ध्यानाकर्षणपत्रको ड्राफ्ट उपलब्ध नगराएको र गठनै नभएको उपसमितिको संयोजक हुँ भन्दै फोन आएपछि शंका लागेर र्यालीमा नगएको अखिल नेपाल औद्योगिक मजदुर संघ इकाई कमिटीका सचिव मुकुन्दप्रसाद भट्टराईले जानकारी दिनुभयो । ट्रेड युनियन संघ मजदुरको पक्षमा रहने भन्दै गलत क्रियाकलापको विषयमा कहिल्यै विचलिन नभई निरन्तर खबरदारी गरिरहने उहाँले बताउनुभयो । आगामी दिनमा स्थानीय संघर्ष समितिसँग वैधानिकरुपमा सहकार्य गरेर अगाडि बढ्न स्वीकार्य भएको उहाँको भनाइ छ ।