हेटौंडाः शिक्षा तथा मानवस्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरका निर्देशक हरिप्रसाद अर्यालले विद्यालय मर्जमा समस्या रहेको बताउनुभएको छ । बिहीबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रमलाई सहजीकरण गर्नुहुँदै उहाँले कक्षामा ५ देखि २० जनाभन्दा कम विद्यार्थी भएका विद्यालय उल्लेख्य रहे पनि मर्जमा समस्या रहेको उहाँले जानकारी दिनुभयो । प्रायः शिक्षकले नै विद्यालय मर्ज गर्न रोकेको आरोप लगाउनुभयो ।

कक्षामा ५ भन्दा कम विद्यार्थी भएका विद्यालय बागमती प्रदेशमा एक हजार ९ सय ८१ रहेको निर्देशक अर्यायलले जानकारी दिनुभयो । यस्तै, कक्षामा १० भन्दा कम विद्यार्थी भएका विद्यालय ४ हजार ४ सय ७३, कक्षामा १५ भन्दा कम विद्यार्थी भएका विद्यालय ४ हजार ७६ र कक्षामा २० भन्दा कम विद्यार्थी भएका विद्यालय ४ हजार ३ सय ३० रहेको निर्देशक अर्यालले बताउनुभयो । उहाँले नेपालको संविधान २०७२ को शिक्षासम्बन्धी प्रमुख प्रावधानहरु, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमवाली २०७७ जस्ता नीतिगत विषयमा सहजीकरण गर्नुभयो ।

उहाँले सञ्चारकर्मीलाई विशेष प्राथमिकता दिएर शिक्षा क्षेत्रमा भइरहेका गतिविधिलाई उठान गर्न आग्रह गर्नुभयो । स्थानीय तहमा कार्यान्वयन गरिने प्रमुख कार्यक्रमलाई विशेष जोड दिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरी, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका हरिचन्द्र सापकोटालगायतको उपस्थिति रहेको थियो ।